लायन्सले बनायो चिल्ड्रेन्स् होम

चितवन, १८ असोज । बाल क्यान्सरका बिरामीलाई आफू क्यान्सरको बिरामी हुँ भन्ने थाहै नपाउने गरी उपचार होस् भन्ने उद्देश्य सहित यहाँ ‘बच्चा घर’ (चिल्ड्रेन्स् होम) निर्माण गरिएको छ । लायन्स क्लब र दाताको सहयोग गरी दुई करोड बढीमा घर निर्माण गरिएको हो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बिरामी कुरुवा घरसँगै निर्माण गरिएको आठ कोठे सुविधा सम्पन्न घर निर्माण गर्न रु. २ करोड तीन लाख, ३७ हजार ७७ रुपैयाँ खर्च भएको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बि टु वर्ष २०२१–२२ का गर्भनर रामप्रसाद भट्टको विशेष पहलमा यो घर निर्माण भएको हो ।

भट्टका अनुसार लाइन्स ईन्टरनेशनलबाट एक लाख २२ हजार डलर (करिब १ करोड ५४ लाख रुपैयाँ), समाजसेवी भीमराज पाठक र उषामाया पाठकबाट रु. ४५ लाख, क्यान्सर सेवा समाजबाट रु.४ लाख रकम संकलन गरी भवन निर्माण गरिएको हो ।

प्रत्येक कोठामा दुई वटा बेड रहेका छन् । जहाँ तीन जना आरामले सुत्न मिल्दछ । कोठाभित्रै पकाउने किचेनको व्यवस्था गरिएको छ भने ट्वाईलेट समेत सँगै रहेको छ । एसी जडिट कोठामा दुई वटा कुर्ची र टेबल समेत रहेका छन् ।

ग्राण्ड एड्मिनिस्टेटर समेत रहनु भएका भट्टका अनुसार कोठामा आवश्यकता अनुसार टेलिभिजन र अन्य सामग्री समेत जुटाईने छ । उहाँले भन्नुभयो “एउटा सानो परिवारलाई एउटै कोठाभित्रै सबै सुविधा पुग्ने गरी निर्माण गरेका छौं ।” विपन्न वर्गका बाल क्यान्सरका बिरामीलाई परिवारसहित बसेर उपचार गर्न सहज होस् भनेर नै घर निर्माण गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “मलाई क्यान्सर लागेको हो भन्ने बच्चाले थाहै नपाईकन, परिवारसँगै बसेर उपचार पाओस् भन्ने हाम्रो उद्देश्य हो ।” यस घरमा बसेर उपचार गर्दा पढ्ने वातावरण समेत हुने भन्दै उहाँले यसले आत्मबल बलियो बनाएर रोग निको पार्न पनि थप मद्दत मिल्ने बताउनुभयो ।

कोठा र भवनका विभिन्न ठाउँमा कलात्मक चित्र कोरिएका छन् । बालमैत्री चित्र कोर्नका लागि बलराम श्रेष्ठले रु. २ लाख सहयोग गरेको भट्टले जानकारी दिनुभयो ।

कोठामा पस्दा कुनै सुविधासम्पन्न होटलको झल्को दिने गरी निर्माण गरिएको भवनको भुई तलामा चार वटा र पहिलो तलामा चार कोठा गरी आठ कोठा रहेका छन् । जहाँ आठ जना बिरामी बसेर उपचार सेवा पाउन सक्छन् । लायन्स क्लब अफ बागेश्वरी र लायन्स क्लब अफ भरतपुर हाईटको रेखदेखमा भवन निर्माण गरिएको हो ।

लायन्सले आँखा उपचारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको चर्चा गर्दै भट्टले पछिल्लो समय बाल क्यान्सरका क्षेत्रमा पनि काम गर्न थालेको बताउनुभयो । उहाँले बाँकेको खजुरामा हस्पिस निर्माण गरेको चर्चा गर्दै क्यान्सर उपचारका क्षेत्रमा अरु काम गर्दै जाने बताउनुभयो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चिल्ड्रेन्स् होमलाई कार्यविधि बनाएर व्यवस्थित तरिकाले सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “विपन्नलाई निःशुल्क र सक्नेले केही रकम दिने गरी कार्यविधि बनाउँछौं ।”

१५ वर्ष मुनिका बालबालिकालाई हुने क्यान्सरको उपचार निःशुल्क हुने भन्दै उहाँले भन्नुभयो “कसैलाई पनि क्यान्सर रोग नलागेस्, तर बाल क्यान्सरको उपचार नपाए यहाँ आउनुहोस्, हामी सम्पूर्ण निःशुल्क उपचार गर्दछौं ।” उहाँले बच्चाको लागि अस्पतालमा आईसियूको खाँचो रहेको औल्याउनुभयो ।

तीन वर्ष अघि निर्माण थालिएको यस घर निर्माणका लागि अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डा. देजकुमार गौतम, अध्यक्ष डा. निर्मल लामिछाने लगायतले भूमिका खेल्नु भएको थियो । डा. गौतमले समाजलाई अस्पतालसँग जोड्नका लागि यो भवन निर्माणका लागि लायन्सलाई जोडेको बताउनुभयो । उहाँले राज्यले मात्रै सबै काम गर्न सम्भव नभएकाले पनि सामाजिक संघ संस्थाहरुलाई अस्पतालसँग जोडेर अपनत्व हुने काम गरेको बताउनुभयो ।

अस्पतालमा आज आयोजित भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यो घरको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सही ढंगबाट सञ्चालन गर्नुहुनेछ भन्ने विश्वास छ ।” लायन्सहरुले आफूलाई सधैं सम्झिने भन्दै उहाँले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि लायन्ससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स ईन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले बाल क्यान्सरका क्षेत्रमा गरिएको यो उत्कृष्ट कार्य भएको चर्चा गर्नुभयो । उहाँले यो कामको योजना ल्याउन महत्वपूर्ण योगदान दिने तत्कालिन गभर्नर रामप्रसाद भट्टको प्रशंसा गर्नुभयो । भट्टका पालामा संसारकै नम्बर वान क्लब बन्न सफल भएको भन्दै उहाँले यस कार्यले नेपाललाई संसारमा चिनाएको बताउनुभयो ।

उहाँले अस्पतालमा आवश्यक परेको आईसियूका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै तत्काल प्रस्ताव तयार पार्न आग्रह गर्नुभयो ।

सो अवसरमा डिष्ट्रिक ३२५ आरका गभर्नर दिनाथ न्यौपाने, अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल, पूर्व गभर्नर रामप्रसाद भट्ट लगायतले बोल्नु भएको थियो । कार्यक्रमका अवसरमा भवन निर्माणमा सहयोग गर्ने निर्माण कम्पनी लगायत योगदान गर्नुहुनेहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।(कान्तिपुर हेल्थको समाचार)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको