गण्डकी साकोसद्वारा पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८४ महिला लाभान्वित

गैँडाकोट, मंसीर ०२। गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गण्डकी साकोस) को आयोजनामा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा संस्थाको मुख्य कार्यालयमा आयोजित उक्त शिविरबाट कुल ८४ जना महिला सदस्यहरू लाभान्वित भएका छन् । शिविरमा स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिहरूसमेत निःशुल्क वितरण गरिएको संस्थाले जनाएको छ ।

 

संस्थाको स्वास्थ्य उपसमितिको व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । शिविरलाई सफल बनाउन संस्थाको युवा तथा बाल उपसमिति र महिला उपसमितिका सदस्यहरूले व्यवस्थापकीय सहकार्य गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समिति तथा सल्लाहकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वास्थ्य परीक्षणका लागि आएका सदस्यहरूलाई सहकारी शिक्षा र चेतना अभिवृद्धि गर्ने उद्देश्यले सोही अवसरमा सहकारी चेतनामूलक नेपाली चलचित्र ‘लक्ष्मीप्रसाद’ समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सुवेदीले शिविरमा प्राविधिक सहयोग पुर्‍याउने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको चिकित्सक तथा प्राविधिक टोलीलाई मायाको चिनो प्रदान गरी धन्यवाद ज्ञापन गर्नुभयो । ‘सदस्यको स्वास्थ्य, हाम्रो सरोकार’ भन्ने मूल भावका साथ गण्डकी साकोसले प्रत्येक वर्ष आफ्ना सदस्य तथा समुदायको हितका लागि विभिन्न स्वास्थ्य सचेतना तथा निःशुल्क शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको