गैंडाकोट खेलकुद समितिको पाँचौँ अधिवेशन : रमेश तिवारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन

गैंडाकोट, मङ्सिर ३ । गैंडाकोट खेलकुद समितिको विशेष साधारण सभा तथा पाँचौँ अधिवेशनले रमेश तिवारीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश पौडेल र गौरव भक्त अधिकारी, सचिव डिलकुमारी घिमिरे र सह-सचिवमा तिला वन सर्वसम्मत चयन भएका छन् भने समिति सदस्यहरूमा लक्ष्मण कार्की, सुमन पण्डित, दलबहादुर राना, निर्मल पाण्डे, शोभा आले, विशाल अधिकारी र शंकर अधिकारी रहेका छन्। अधिवेशनको निर्वाचन संयोजकको जिम्मेवारी हरि पौडेलले सम्हालेका थिए। समितिका निवर्तमान अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य हालै अध्यक्षमा चयन भएका रमेश तिवारीले राखेका थिए। साधारण सभामा समितिको आर्थिक प्रतिवेदन सह-सचिव तिला वनले प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नवलपुर जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा गैंडाकोट वडा नम्बर ४ का वडा सदस्य हरि पौडेल, नवलपुर जिल्ला खेलकुद समिति कार्यवाहक अध्यक्ष दलबहादुर राना, गैंडाकोट नगर बक्सिङ सङ्घका अध्यक्ष शारदासाही ठकुरी लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नवलपुर जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमले सर्वसम्मत नेतृत्व चयन हुनु स्थानीय खेलकुदको विकासका लागि सकारात्मक सङ्केत भएको बताउँदै उनले भने “सहमति र सहकार्यबाट बनेको नयाँ कार्यसमितिले गैंडाकोटको खेलकुद क्षेत्रलाई अझ चलायमान र व्यवस्थित बनाउने विश्वास लिएको छु। स्थानीय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्न समितिले ठोस योजना बनाएर अघि बढ्नुपर्छ, जसमा जिल्ला खेलकुद विकास समितिको सधैँ साथ र सहयोग रहनेछ।” नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा गैंडाकोट नगरभित्र खेलकुदको पूर्वाधार विकास, विभिन्न खेल प्रतियोगिताको आयोजना तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको