लेखन – विष्णु पन्थी
समय बदलिएपनि समयका पछाडि दौडनेहरूूको विचार बदलिएको छैन । ज्ञान र चेतनाको चौतर्फी विस्फोट भएपनि कार्यान्वयन पक्ष उदार हुन सकेको छैन । ऐन नियमका दस्ताबेजहरु पर्याप्त बनेपनि ती कागजी रुपमा मात्र सीमित छन् ।महिलामैत्री समाजको परिकल्पना आदिम कालदेखि कानुनी रूपमा गरेपनि व्यवहारिक रुपमा चपाउँने दाँत र देखाउने दाँत झै भएको छ ।महिलाहरूलाई हेर्ने चेतनाको स्तर आदिम युग ,बुद्धकालीन समाजदेखि राजतन्त्रात्मक तथा गणतन्त्रात्मक राज्य ,राणा ,राजा, निर्दल , बहुदल प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्तोसुकै राजनैतिक संरचनाभित्र पनि हेर्ने र व्यवहारिक रूपमा सम्बोधन गर्ने शैली सङ्कुचित पारिएको छ । ३३% प्रतिशत अधिकार प्राप्त गरियो भनेर महिला अधिकारकर्मीहरू ठूलै युद्ध जितेको आभास गरेका थिए । राज्यका सम्पूर्ण निकायमा ३३% महिलाको अधिकार सुनीश्चित गरिएको भएपनि कार्यान्वयन गर्न फलामको चिउरा चपाउनझैँ भएको छ । अझै अहिले स्थानीय तहको निर्वाचनमा त गठबन्धनका कारणले त्यो अधिकार पनि कुण्ठित बनाएको छ ।
पुरुषहरूलाई भागवण्डा मिलाउन सकस परेको छ ।अभिव्यक्ति स्वतन्त्रताको बाढी आएको छ तर यहाँ महिलाहरूलाई बोल्न पनि पुरुषहरूको अनुहार पढ्नुपर्छ । सामाजिक तथा नैतिक रुपमा वाणीलाई थुनिएको छ । महिलाहरूको अभिव्यक्ति स्वतन्त्रतामा नै नैतिक दावाव छ । अन्तर्रात्माले स्वीकार नगर्दा नगर्दै दन्किएको मनको आगोमा महिलाहरूकै धैर्यताताले निभाउनु सिवाय केही छैन । यिनै कारणले महिलाहरूलाई निरीह बनाइएको छ । आफ्नो अधिकारका लागि पक्षघातको रोगी जस्तै भएर बसेका छन् महिलाहरू । कुनै न कुनै अङ्गलाई निरीह बनाउन बाध्य छन् ।
महिलाहरूलाई हेर्ने दृष्टिकोणको कुरा गर्दा यहाँ पाच्य नहोला । यो एउटा तीतो यथार्थ हो । समाजमा कहलिएका बौद्धिक, चेतनशील ,विवेकशील व्यक्तिहरूको समूहबाट नै महिलाहरूलाई फरक दृष्टिकोणले हेरिन्छ । आसन, भाषण, शासन यी तीनवटै कुरामा महिलाहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा ऐजेरू लागेको छ । अझै पनि काम ,रूप भेषभूषाका साथै उसको शारीरिक बनावटमा गिद्धे नजर लगाएर सुषुप्त रूपमा शोषण गरिएको हुन्छ । यसका लागि दर्पणसहित समाजमा धेरै उदाहरण देखिन्छन् ।
महिलाहरूले कुनैपनि भूमिका कानुनअनुसार पाए पनि त्यसको उचित सम्मान गरेको पाँदैन । कुनै एउटा समान भूमिका रहेको संघ संस्थाको अध्यक्ष तथा प्राचार्य, महिला र उही समान तहको संस्थाको पुरुष अध्यक्ष वा प्राचार्य हुनुहुन्छ भने हेर्ने दृष्टिकोण फरक हुन्छ। महिलाहरूलाई षुरुषको कुनै सहयोग हुँदैन । बरु भित्रभित्रै गुट र उपगुटका राजनीति गरेर ,महिला महिला लडाएर आन्तरिक फुट ल्याएर वा अन्य आक्षेप लगाएर फुटाउन षुरुषको भूमिका महत्वपूर्ण हुन्छ। महिलाको कार्यक्रममा त्यहाँ सहयोग पुरुषबाट हुँदैन। कुनैपनि संस्थाको अध्यक्ष महिला छन् तर षुरुष उपाध्यक्ष छन् भने तिनको साधारण सभा अधिवेशनमा उपाध्यक्ष पुरुषको भूमिका स्वागत मन्तव्य दिएर कार्यक्रमभर विशेष आसन ग्रहण गरेर बसेको देखिन्छ । त्यही ठाउँमा महिला उपाध्यक्ष भएको अवस्थामा भूमिका बाँधेर घुमाइ फिराइ स्वागत मन्तव्य अरू पुरुषलाई दिएर पुष्पगुच्छा दिने खादामाला लगाएर स्वागत गर्ने , स्टेजसम्म पानी चिया नास्ता पुर्याउने भूमिका दिइन्छ । आसन ग्रहण गर्ने क्रममा समान ओहदाको पुरुष महिला भए पुरुषलाई आसन ग्रहण हुन्छ । महिलाको लागि सकेसम्म नामै उच्चारण हुँदैन । जेनतेन भएपनि लास्टमा स्टेटमा ठाँउ सकिएपछि परिचयात्मक आसनग्रहण भनेर लोक बुझाइन्छ । कोषाध्यक्ष हाल महिलाहरूलाई राख्ने भनिएको छ । बाध्यतावश महिलाहरूलाई राख्न पर्ने अवस्था आयो भने त्यसलाई कार्यान्वयन गर्न अत्यन्त कठिन हुन्छ । आर्थिक जिम्मा पुरुषले लिन नपाए अनेक किसिमका अवरोध खडा गरेर असफल बनाउन सक्रिय भूमिका निर्वाह गरेका ज्वलन्त उदाहरण छन् । यस्तै अनेकौँ बहानामा महिलाहरूमाथि हदैसम्म निकृष्ट व्यवहार गरेको पाइन्छ ।
कुनैपनि संघ संस्था वा बोर्ड समितिमा समान दर्जामा रहेका महिला र पुरुषको माइनट ( उपस्थिति पुस्तिका)मा नाम लेख्ने क्रममा पनि पक्षपात गरिन्छ । बौद्धिक व्यक्तित्वहरूकै समूहमा महिलाको योग्यताको आधारमा अनि आवश्यकता अनुसार कुनै पनि दर्जामा पहिले नै क्रमागत रूपमा नाम राखिएको भएपनि पछि फोर्सले मनोनित गरिएको पुरुष छ भने त्यो षुरुषको नाम अगाडि क्रममा राखेर महिलाको नाम क्रम सार्दै सार्दै पुछारमा पुर्याइन्छ ।
यहाँ बौद्धिक भनेका व्यक्तित्वहरूबाट नै बढी महिलाहरू प्रताडित छन् । आजभोलि हरेक कार्यक्रमा (सभा, समारोह, साधारण सभा, अधिवेशन ,मठ मन्दिर, सांस्कृतिक कार्यक्रम) महिलाहरूलाई समूहगत रुपमा उपस्थितिको लागि पत्र पठाइन्छ। आफ्नो समूहको प्रतिनिधित्वमा कम उपस्थित देखिन्छ भनेर धेरै सङ्ख्यामा उपस्थितगराउने होडबाजी समूहगत रू। रूपमा रहन्छ । आफ्नो समूहलाई उत्कृष्ट बनाउने होडबाजीमा ती कार्यक्रममा महिलाहरूको धेरै उपस्थिति रहन्छ । उदाहरणको लागि धेरै टाढा जानु पर्दैन। केही समय पहिले एउटा कार्यक्रम थियो पार्टीप्यालेसमा । जुन कार्यक्रममा पुरुषको भन्दा बढी झण्डै तीस प्रतिशत महिलाहरूको उपस्थिति थियो । त्यसमा आसन ग्रहणका लागि पैँतीस (३५) जना पुरुष स्टेजमा रहेका थिए भने एकजना महिलालाई पनि स्टेजमा बोलाइएको थिएन। सबै पुरुषहरुको आसन ग्रहण सकेर स्टेज फूल भएपछि दुई चार जना महिलालाई परिचयात्मक आसन ग्रहण भनेको सुनिन्थ्यो । मञ्चमा आसन ग्रहण नपाए केही पुरुषहरू देखिएर कतैतिर कार्यक्रम छ भन्दै व्यस्तता देखाएर बाहिरबाट नै हिडेका थिए भने केही मञ्च पाएका पुरुषहरू कोही आफ्नो बोल्ने क्रम नपाएर छिटो कार्यक्रम स्थल छोडेका थिए । कोही आफू बोलेपछि कार्यक्रम समापन नगरी हिँडेका थिए । प्रमुख अतिथि बोल्ने बेलासम्म पुरुषको धेर्यता बसाइ न्यून थियो भने कार्यक्रमको शोभा महिलाहरूले बढाइदिएका थिए । अन्यमा कार्यक्रमको सभापतिले भन्दैथिए समापन भाषणमा मैले सधै आमा दिदीबहिनीहरूलाई सम्मान गर्छु । मैले भगवान मान्छु तपाईंहरूलाई । जो कार्यक्रमको अन्तिमसम्म बसेर कार्यक्रमको शोभा बढाइदिएका थिए । सुरूको उपस्थिति सङ्ख्यामा ३०% मात्र समापन कार्यक्रममा उपस्थिति थिए ।
त्यस्तै केही समय पहिले प्राज्ञिकहरूको ठूलै कार्यक्रम पार्टी प्यालेसमै सामाजिक सञ्जालबाट देखियो । जसमा झण्डै ४० जना पुरुषहरू मञ्चमा आसन ग्रहण गरिरहेका थिए भने एक जना महिलाहरूलाई त्यहाँ प्रतिनिधित्व गराइएको देखिएन । त्यहाँ पनि दर्शक दीर्घातिर नै राखिएको होला महिलाहरूलाई । त्यस्ता कैयौँ भव्य तथा सभ्य समारोह होस् वा प्राज्ञिक तथा बौद्धिक वर्गको सभा समारोहमा होस् महिलाहरूलाई सूक्ष्म वा साङ्केतिक रूपमा नै शोषण गरिन्छ । खादा र माला लगाउने होस् वा चिया खाजा बाढ्नेभन्दा अरु भूमिकामा राखिदैँन । धेरै सभा समारोह देखाउन पर्ने अवस्था आयो भने पहिला आमा समूहलाई चिठी काटिन्छ । उनीहरूलाई र्यालीमा वा दर्शकदीर्घामा धेरै देखाउनमात्र खोजी गरिन्छ तर त्यसको महत्वपूर्ण निर्णयात्मक भूमिकाबाट वञ्चित गरिन्छ ।
तसर्थ तीतो यथार्थको रूपमा हालसम्म भोगेको , देखेको,सुनेको अनुसार कुनैपनि संस्थामा गरिएका कार्यक्रम, साधारणसभा, अधिवेशनमा सांस्कृतिक कार्यक्रम, भव्य र सभ्य समारोहमा आसन,भाषण ,शासनदेखि लिएर नियमित मिटिङको माइनुटमा नामको क्रमागतमा समेत सङ्कुचित घेराभित्र राखेर महिलाहरूलाई हेरेको पाइन्छ । जबसम्म षुरुषहरूमा महिलाहरूलाई हेर्ने नजर , लोकलाई देखाउन गर्ने व्यवहार परिवर्तन हुँदैन तबसम्म समाजमा महिलाहरूले आफ्नो यथार्थ अधिकार प्राप्त गर्न असम्भव छ । कागजी रूपमा रहेको अधिकारले खासै अर्थ राखेको पाइँदैन। कतिपय अवस्थामा महिलाहरूलाई अधिकार उपलब्ध गराउने बहानामा बार्गेनिङ गरेर विभिन्न किसिमका अशोभनीय तथा अनैति क्रियाकलापको सिकार बनाइएका समाचारहरू बाहिर नआएका होइनन् । कतिपय आफ्नै इज्जत जाने डरले महिलाहरूले दबाएर राखेका घटनाहरू पनि छन् । सधै यसरी दबिएर बस्नु हुँदैन। अब महिलाहरू पुरुषको भरेङ बन्नुभन्दा महिलाहरूकै टेको बनिदिनु पर्छ । यसको अर्थ फेरि पुरुष चाहिँदैन भनेको होइन। आफ्नो कोटामा सीमित रहनुभन्दा आफ्नो अधिकारको लागि सभ्य र भव्य रूपमा अनुशासनलाई आत्मसात गरी कुनै पुरुषवादको अनुहार नपढी फुट र गुट ल्याउने तत्वहरूलाई चिरेर हिड्नु पर्छ । एक महिलाले अर्को महिलालाई अप्ठ्यारोमा साथ दिएमात्र पुरुषले महिलाहरूप्रति हेर्ने नजर र गर्ने व्यवहारमा सुधार ल्याउन सकिन्छ अनि मात्र महिलाहरूले अधिकार स्वयम् आफै आफ्नो क्षमताअनुसारको प्राप्त गर्न सकिन्छ । (गैंडाकोट २ नवलपुर)