गैंडाकोट, वैशाख ११ । २० औँ लोकतन्त्र दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
गैंडाकोट-२, भृकुटी चोकमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सभापति, जिल्ला शाखा सदस्यहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा लोकतन्त्र, मानव अधिकार, शान्ति, अहिंसा, सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यले दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले लोकतन्त्रको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति कमल शर्माले लोकतन्त्र दिवसले विगतका संघर्ष र बलिदानलाई स्मरण गराउने उल्लेख गर्दै वर्तमान पुस्ताले त्यसको मूल्य बुझ्नुपर्ने धारणा राखे। उनले समाजमा शान्ति, सहिष्णुता र मानव अधिकारको सम्मान कायम राख्न सबैले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताए।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले समेत लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।







