त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा दुई कृतिको विमोचन

गैंडाकोट, ९ वैशाख । त्रिवेणी साहित्य प्रतिष्ठान गैंडाकोटको आयोजनामा सम्पन्न विशेष साहित्यिक कार्यक्रममा प्रख्यात स्रष्टाहरूलाई सम्मान गरिएको छ भने दुई महत्वपूर्ण कृतिको समेत विमोचन गरिएको छ। कार्यक्रममा साहित्यिक चेतना, सृजनशीलता र मौलिक कृतिहरूको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको थियो।

 

कार्यक्रममा साहित्यकार डा.नवराज लम्साल लाई ‘त्रिवेणी-‘इन्द्रराज काव्य पुरस्कार’ प्रदान गरिएको छ। पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ। प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल, वरिष्ठ साहित्यकार चूडामणि बन्धु तथा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी ले संयुक्त रूपमा लम्साललाई सम्मान गरेका हुन्। त्यसैगरी, ‘त्रिवेणी-तीर्थराज कोइराला छन्द काव्य पुरस्कार’ बाट साहित्यकार कल्पना अधिकारी भट्टराई लाई सम्मान गरिएको छ। उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ। सम्मानित स्रष्टाद्वयको योगदानकाबारे केदारनाथ खनाल र राधा कोइरालाले परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा त्रिवेणी साहित्य परिषद्का उपाध्यक्ष तथा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्मा ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चूडामणि बन्धु ले नेपाली साहित्यको विकासमा स्थानीय तह तथा साहित्यिक संघ संस्था बाट भइरहेका यस्ता पहलहरू अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै नयाँ पुस्तालाई सृजनात्मक लेखनतर्फ प्रेरित गर्न आवश्यक रहेको बताउँदै उनले साहित्य समाजको ऐना मात्र नभई परिवर्तनको मार्गदर्शक पनि भएको धारणा राखे।

प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल ले संस्थाले निरन्तर रूपमा स्रष्टाको सम्मान, कृति प्रकाशन र साहित्यिक बहसलाई अघि बढाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यापक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा साहित्यकार सदानन्द अभागी जैसी द्वारा लिखित ‘स्वर्गको यात्रा’ महाकाव्यको विमोचन गरिएको थियो। पौराणिक विषयवस्तुमा आधारित उक्त कृति समीक्षात्मक महाकाव्यका रूपमा प्रस्तुत गरिएको छ। साथै, जैसीकै ‘इन्द्रराज पौडेलको व्यक्तित्व र कृतित्व’ नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो, उक्त पुस्तकमा पौडेलको साहित्यिक योगदानमाथि समालोचनात्मक अध्ययन गरिएको छ। उक्त दुवै कृति त्रिवेणी साहित्य प्रतिष्ठानबाट प्रकाशित भएका हुन् भने प्रा.डा. नारायणप्रसाद खनाल ले सम्पादन गरेका हुन्। कृतिहरूबारे प्राध्यापक विष्णु पन्थी र कपिल अज्ञात ले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थापक प्रा.डा. नारायणप्रसाद खनाल, कविवर गोविन्दराज विनोदी तथा गोविन्द कोइराला लगायतले सम्मानित स्रष्टा तथा विमोचित कृतिप्रति शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव भूमीश्वर शर्मा ले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको