गैंडाकोट, वैशाख १३ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् नवलपुरले आफ्नो आठौं जिल्ला अधिवेशन गैंडाकोटमा एक समारोहका बीच सम्पन्न गरेको छ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान तमु को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि तमुले गुरुङ समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन आजको मुख्य आवश्यकता भएको उल्लेख गरे। उनले समुदायभित्र एकता, सहकार्य र नेतृत्व विकासमार्फत संगठनलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए। साथै, युवापुस्तालाई संगठनमा सक्रिय गराउँदै मौलिक पहिचान जोगाउने जिम्मेवारी सबैको भएको बताए।
कार्यक्रममा राजु तमु, मिलन तमु, टङ्कबहादुर तमु, तौबहादुर तमु, पार्वती तमु, चन्द्रकुमारी तमुस्य लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। अधिवेशनमा मन्तव्य राख्दै वक्ताहरूले गुरुङ समुदायको हक-अधिकार, भाषा संरक्षण, सांस्कृतिक पहिचान र सामाजिक एकताका लागि परिषद्ले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनीहरूले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म संगठनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् नवलपुरका अध्यक्ष जगतबहादुर तमुको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष तमुले संगठनलाई सबैको साझा चौतारीका रूपमा विकास गर्नुपर्ने बताए। उनले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै आगामी दिनमा अझ सक्रिय, जिम्मेवार र परिणाममुखी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव कुलमान गुरुङले कार्यक्रमको सहजीकरण गरेका थिए। आठौँ अधिवेशनबाट अध्यक्ष धनबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। जसको वरिष्ठ उपाध्यक्षमा तुलबहादुर गुरुङ, उपाध्यक्षहरूमा जङ्गबहादुर गुरुङ र मानबहादुर गुरुङ, सचिवमा किशनबहादुर गुरुङ, संगठनात्मक सचिवमा नन्दकुमारी गुरुङ, प्रचारप्रसार सचिवमा घोबहादुर गुरुङ, कोषाध्यक्षमा प्रेमराज गुरुङ चयन भएका छन्। त्यस्तै सह-सचिवमा आशबहादुर गुरुङ, सह-कोषाध्यक्षमा गोपालप्रसाद गुरुङ तथा सदस्यहरूमा विष्णुबहादुर गुरुङ, हिमाल गुरुङ, आशा गुरुङ, गीता गुरुङ, सुकबहादुर गुरुङ, भीमबहादुर गुरुङ, सृष्टि गुरुङ, राजेन्द्रकुमार गुरुङ र संगीता गुरुङ चयन भएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।








