खाम्चामा टिप्पर दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), वैशाख १६ – जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-५ खाम्चास्थित भित्री सडकखण्डमा आज दिउँसो टिप्पर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार सर्बोत्तम सिमेन्ट खानीबाट पश्चिम परासीतर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ८७२१ नम्बरको चुनढुङ्गा बोकेको टिप्पर करिब १४:०० बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खस्न पुगेको थियो।

दुर्घटनामा परी टिप्पर चालक रुपन्देही तिलोत्तमा नगरपालिका निवासी ४७ वर्षीय बाबुराज भट्टराईको छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ। यस्तै, सोही टिप्परमा सवार पाल्पा माछागढी गाउँपालिका- ७ मटेरी निवासी अन्दाजी ३५ वर्षीय कुलबहादुर ढेगाको दुवै खुट्टा, दाहिने हात तथा टाउकोमा गम्भीर चोट लागेको छ।

त्यसैगरी, विनयी त्रिवेणी गाउँपालिका-५ चिडियाका अन्दाजी २६ वर्षीय टोपबहादुर रानाको टाउको र कम्मरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते तीनै जनालाई उपचारका लागि भरतपुर, चितवनतर्फ पठाइएको छ। घटनास्थलमा प्रहरी टोली खटिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको