यात्रा संस्मरण
जिन्दगीले ६ को दशक पार गर्न लागिपरेको छ । रहर उम्रँदै थन्किँदै गर्छन् । सधैँ सोचेजस्तो नहुने प्रकृतिकै नियम हो भन्छन् तर पनि जिज्ञासा मेटिँदो रहेनछ । आज किन हो कुन्नि नगरेको यात्रा लिपिबद्ध गर्ने मन जागेर आयो । कुरा सामान्य हो तैपनि मन बहकियो त के लाग्छ ? केही पृथक गरौँ झैँ लागेर कलम उठाउने प्रयास गर्दै छु ।
तीन दिन अगाडिको कुरा हो । श्रीमती लिला ढुङ्गाना अधिकारीले स्कुलका विद्यार्थी लिएर भ्रमण जाने निर्णय सुनाएकी थिइन् । निर्णय पश्चात् २ दिन सँगै रहियो । उनको गन्तव्यका बारेमा सामान्य बुझबुझारत पनि गरियो । उनले सोही अनुसारको तयारी पनि गरिन् । ३ दिने अर्थात २ रात बिताउने कार्यक्रम रहेकोले ठाउँ र मौसम अनुसारको लुगाफाटो छनौट गरेर हिजै झोला तयार भइसकेको हो । रातभरको तर्कनाले के सम्झायो कुन्नि ! बिहान उठेर लगिने भनिएको कोटका सवालमा सोच परिवर्तन भएछ झोला बदलिएछ । निर्णय सुनाइन् । मलाई पनि उचित लाग्यो। उनलाई हतार भएकोले अस्ट्रेलियामा रहेको शिशु नातिको प्रातः क्रीडा हेर्ने र छोरीसँग वार्ता गर्ने नियमित प्रक्रियासमेत छोटिन पुग्यो । म उठेर परिवर्तित झोलामा सामान भर्ने काममा सघाएँ । उनी तयार भइन् म आफ्नो प्रातः अभ्यास (व्यायाम स्नान)लाई थाती राखेर स्कुटी निकाली रत्नराज्यलक्ष्मी मा वि को मूल द्वारसम्म पुर्याएर फर्किएँ । बिहानको ६ बज्यो । स्कूलले विद्यार्थी भ्रमण लग्ने र शिक्षक अभिभावकीय भूमिकामा सामेल गराइने कार्य स्कूल सभ्यताको वार्षिक प्रक्रिया हो । बर्सेनि मङ्सिर सुरु हुँदा नहुँदै यो क्रम चलिसकेको हुन्छ । यसै वर्ष पनि अगिल्लो हप्ता एक दिवसीय बन्दिपुर भ्रमण गएरै आएकी हुन् । म आफैैँ पनि गल्याङ प्रज्ञा प्रतिष्ठानको निमन्त्रणामा स्याङ्जा पुगेर विशिष्ट कार्यक्रममा सहभागी हुने अवसर पाएकै हूँ । आखिर आज आएर घरै बसीबसी लिलाजीको यही यात्रामा शब्द खिप्ने धृष्टता किन उब्जिएको हो ! आफैँ अन्योलमा छु तर रहर जागेकै छ । जहाँबाट उनको यात्रा सुरु भयो त्यहीँबाट यता नियात्रा आरम्भ ।
केही समय आफ्नो नियमित प्रक्रिया, पूजाआजा र खानपान व्यवस्थामै समय व्यतीत भयो । भान्सामा एक्लै आफ्नै स्वादको परिकार बनाउँदै गर्दा आधुनिक सञ्चार जगतको सुविधाले घन्टी बजायो । काठमाडौँ अस्ट्रेलिया जोडियो । छोरा छोरीसँग ममीको यात्रा सन्दर्भको समेत कुरा हुँदा सम्पर्क नभएको थाहा भएपछि आफैँले फोन लगाएँ । दमौली कटेको जानकारी भयो । यात्राको समय र दुरी मिलेकै महसुस भयो । फेरि आफ्नै तानामा फर्किएँ । मनले सङ्कल्प गरिसकेको थियो । आँटेर लेखिहाल्ने अवसर नजुटी रहेको बेला फोनमा घन्टी बज्यो । उनी बोलिन् : “पोखरा आइपुग्यौँ, बाटो अपेक्षाकृत बनि सकेको रहेछ, खाना खाएर बजार निस्किएका छौैँ” ।
यो अभिव्यक्तिले मलाई आफ्नो घर अगाडिको बाटोको दुर्दशाले केही जिस्क्याए जस्तो लाग्यो । अस्तिमात्रै म गल्याङको कार्यक्रमबाट फर्कँदा बटौली झरेर स्तरवृद्धिको नाउँमा विगत ५ वर्ष देखि जनताले हिलो धूलो र जाम खेपेको पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको विशेष अवस्था नियालेर धुलाम्य यात्रा गरेकै हूँ । दुवैतिर उही प्रकृतिको काम उही चाइना कम्पनीको ठेक्का। उता झन पछाडि सुरु भएको । अहिले कुन स्तरमा बन्यो त्यो त थाहा छैन तर पनि सजिलै र समयमै पोखरा पुगेको खबरले मलाई यतातिर फर्किएर हेर्न करै लाग्यो। किनकि मलाई अस्ति बुटवलबाट १०० कि मी छिचोल्न पुरै ७ घन्टा लागेको थियो । जे होस् अहिले यताको कष्ट बिर्सिएर उतै अगाडि बढ्नु छ । कारण लेखनको उद्देश्य पोखरा नै हो । रत्नराज्य माविकै यात्रा विशेषलाई समेट्नु पर्ने हो। प्राप्त सूचना अनुसार उनीहरू प्रमुख गन्तव्यमा पुगिसकेका छन् तर मूल प्रयोजन भने बाँकि नै छ । होटल व्यवस्थापनका विद्यार्थीहरूलाई पाँचतारे होटलको व्यवहारिक ज्ञान दिलाउनु हो । त्यसैले होटल व्यवस्थापन अध्ययन गराउने शिक्षक प्रतीक घिमिरे २५ जना विद्यार्थीको नेतृत्वमा छन् भने लिलाजी पदीय जिम्मेवारीमा अग्रज भएकाले अभिभावकीय भूमिकामा रहेको अनुमान गरेको छु ! बाँकी विवरण पुन: प्राप्त गर्ने प्रतीक्षामा ।
२.५५बजे फेरि फोन बज्यो । केही फोटा पठाएको सङ्केत भयो । नजिकै बिरौटामा रहेको मयूजियम अवलोकन गरेर आएछन् ! म आफैँ करिब ८ वर्ष पोखरासँग सङ्गत गरेको मान्छे भएर पनि त्यो म्यूजियमसँग जानकार रहेनछु क्यार, नौलै लाग्यो । त्यसो त ४ वर्षसम्म लामाचउर नै जातेआते गरेको म अहिलेसम्म महेन्द्र गुफा पसेको छैन । सबै कुरा संयोगलाई नै जिम्मा दिँदै जीवन चलिरहेको छ । म्युजियमको सन्दर्भ नौलो लाग्नु स्वभाविकै हो । अब भने विद्यार्थीहरूलाई होटल पी जी (पोखरा ग्र्यान्ड)को तर्फबाट भौतिक रुपमै देखाउने सिकाउने कार्य सुरु हुँदे रहेछ ! सञ्जय दृष्टि प्राप्त छैन । भएको भए लेखन कार्य निकै सरल हुन्यो होला । त्यो विवरण लिपिवद्ध गर्ने कुनै वैकल्पिक स्रोत पनि भएन । आफैँ कुनै समय सोल्टी होटलमा काम गर्दाको पुरानो सम्झनाको आधारमा केही अनुमान भने लगाएकै हूँ । पाँचतारे बन्नका लागि आवश्यक सर्त पक्कै सुनाइए होलान् । भान्सा, भान्सामा पाक्ने परिकार , होटलका मौजुदा सेवा सुविधा, कोठा, कोठामा दिइने सेवा, बार, बगैँचा, पौडी पोखरी, नाच गान सङ्गीतको रौनक, परिकारको स्तर र स्वाद आदि आदिका विषयमा वस्तुगत जानकारी पस्किने त होला नि जस्तो लाग्यो । पाठ्यक्रमले के माग्छ ? उनीहरूले के दिन सक्छन् वा के सक्दैनन् ? ती कुराहरू सहभागीले बताउने नै छन् । मेरो चिन्ता जे दिन्छन् त्यसोलाई समेट्नु हो । रात छिप्पिन लागि सक्यो उनीहरूसँग सम्पर्क भएको छैन ! निद्राले नै करापिसकेपछि आफैँले सम्पर्क गरेँ । उता पनि सुत्ने तरखर भएको रहेछ । खासै कुरा भएनन् । बिहान भने भरर्रै फोटा आए । थोरै प्रत्यक्ष प्रसारण । त्यो पाँचतारे होटलको कोठा सजावट । बाहिरी दृश्य, घुरमैलो तुवालोले छेकेको हिमाल । केटाकेटीले बिहानी खाजा खाँदै रमाउँदै गरेको परिवेशमा उनी उतै रमाउँदै छिन् म यतै शब्द बुन्दै छु । मैले यहाँ विवरण उतार्दै गरेको जानकारी दिएकै छैन । दिएको भए सायद फोटा र सूचना बढी नै आउँथ्यो होला । समेट्न भ्याइ नभ्याइ हुन्थ्यो । अबको कार्यक्रम पुम्दीकोट र भरेको लक्ष्य घान्द्रुक भन्ने सम्म जानकरी भयो । बाँकी पुन: रिपोर्टिङको प्रतीक्षामा ।
खासै भन्नुपर्दा नेपालमा प्रतीक्षा र लाइनले कहिल्यै पनि कोल दिएको छैन । यहाँ पनि यस्तै भयो । एकैचोटि ३ बजे तिर विन्ध्यवासिनी दर्शन गरेर झरेको र यात्रा घान्द्रुकतिर अगाडि बढेको खबर आयो। पुम्दीकोटको विवरण खासै नआए पनि अतिरिक्त कुरा त के पो होला र ? उही गुम्बा, उही विशाल शिवजीको मूर्ति, हरियाली पाखा, शृङ्गारिक बाटिकामा केटाकेटी रमाए, फोटो खिचे रोचक दृश्य, त्यहीबाट फेवातालको अनुपम दृश्य, यस्तै यस्तै न हो ! साँझ घान्द्रुक नै पुगिसकेपछि भने केही जिज्ञासा थपिनु स्वाभाविक नै हो । थपियो पनि । केरला नाका छिचोल्ने लक्ष्य सहित विस्तारित हुँदै गरेको सडकबाट लुम्लेको चिसो हावाको स्पर्श सहित नयाँपुल पुगेर १७ किमी भित्री कच्ची सडक पार गरेर पुगिएको ग्रामीण इलाकाको सभ्य गाउँको नाम घान्द्रुक रहेछ । सानो गाउँमा सयौँ पाहुनालाई समयोचित स्वागत सम्मान दिन सक्ने व्यवस्था । साँच्चिकै हिमालको आँचलमा बसेको अनुभूति हुने त्यो मनमोहक सन्दर्भले आन्तरिक वा बाह्य पर्यटनको उचाइ थप्न कुनै कसुर छाडेको छैन । आफ्नो संस्कार र संस्कृतिमा कत्ति विचलन नभएको त्यो गुरुङ गाउँको सभ्यताले हरेक आगन्तुकलाई शिष्टताको पाठ सिकाइरहेछो छ । होटल सामिप्यको आँगनबाट बिहानीको झुल्के घामसँगैको दृश्य सौन्दर्य झनै रोचक रह्यो । उनको एकोहोरो विवेचनालाई गणेशले झैँ लिपिबद्ध गरेँ । आफू पटक पटक सन्दर्भ उठान गरेर पनि अवसर नजुटिरहेको स्थानको बारेमा यत्ति कलम चलाउन पाउँदा पनि धन्य ठानेको छु ।
लेखनका क्रममा कहिले थोरै सुस्ताएँ । मैले के गर्न खोजेँ ? आफ्नो अन्तर्हृदयलाई आफैँ बुझ्न गाह्राे भयो। आफ्नो सङ्कल्पलाई आफैैँ गिज्याउन पुगेँ । ताजा सूचना पाउँदा बहकिएँ । पुन: सोच्न पुगेँ, आफूले गरेको यात्रा विवरण त जसले पनि लेख्छ । पारिजातले मैले नजन्माएको छोरो लेखेकै हुन् । मैले पनि छोरीको आग्रहमा उनैले दिएको शब्दको अर्थै नखुल्ने शीर्षक “अलपन विलपन”मा निबन्ध लेखेकै हुँ । खोजी गर्दै गए यस्ता अड्मिल्दा प्रसङ्गमा लेखिएका सन्दर्भ अरू पनि होलान् । यो खोज अन्वेषणको पाटो सोधकर्तालाई नै छाडेँ । आखिर साहित्यमा एउटा इँट्टा थप्ने न हो । यस्तै सोचमा एक्लोपनलाई साथ दिन आफ्नो मेलो आफै तय गरेको हुँ ! उनी आइन् । कलमले विश्राम लियो ।
जय साहित्य !
रामहरि शर्मा `शराह´
गैँडाकोट ११ , नवलपुर