नवलपरासी (बर्दघाट सुस्ता पूर्व), वैशाख १९ – दान बहादुर कार्की ले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक तथा मेस भवनको औपचारिक उद्घाटन गरेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्य समयमै सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरे। उनले नवनिर्मित संरचनाबाट प्रवाह हुने सेवा अझ नागरिकमैत्री, व्यावसायिक तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा लक्ष्मीदेवी पाण्डे, कृष्ण प्रसाद लम्साल तथा चिरन्जिवी राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले नयाँ भवनले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
गण्डकी प्रदेश सरकारको विनियोजित बजेट अन्तर्गत कुल ३ करोड २ लाख १२ हजार ६ सय ७६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनले ट्राफिक व्यवस्थापन तथा सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका अगुवाहरू, संघ-संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।







