काठमाडौँ,पुस २५ । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आजै थुनछेक आदेश दिनसक्ने भएकाले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
निषेधित क्षेत्र आसपास सुरक्षा कडा पारिएको अन्य बाह्य क्षेत्रमा पनि आदेशपछि हुनसक्ने सुरक्षा थ्रेटलाई मध्यनजर गरी अदालत आसपास क्षेत्रमा निगरानी बढाइएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए।
रास्वपाका सभापति पूर्वगृहमन्त्री रवि लामिछानेसँग मुद्दा जोडिएकाले पनि उक्त आदेशलाई अर्थपूर्णरुपमा हेरिएको छ।
जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बहस सकिएकाले सम्भव भएसम्म थुनछेक आदेश आजै दिने तयारी अदालतको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले बिहीवार साँझसम्ममा इजलासबाट थुनछेक आदेश हुनसक्ने जानकारी दिइन्।
अघिपछि रवि लामिछानेलाई अन्य जिल्लामा लैजाँदा र ल्याउँदा देखिएको सुरक्षा खतरालाई ध्यानमा राखेर प्रहरीले आवश्यक तयारी गरेको छ। आदेश आउँदा जम्मा भएका रास्वपाका नेता कार्यकर्ताहरुबाट प्रदर्शन हुनसक्ने आँकलन कास्की प्रहरीको छ।
तारेखमा छाडे खुसीयाली र थुनामा पठाए आक्रोसपूर्ण प्रदर्शन हुनसक्ने यसअघिका घटनाक्रमले पनि संकेत गरेका छ। त्यहाँ सहकारी पीडितहरूको समेत उपस्थिति देखिएको छ।
‘त्यसैले सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएका छौँ, सम्भावित जोखिम क्षेत्रमा आवश्यकताका आधारमा प्रहरी टोली खटाइएको छ भने रिजर्भ फोर्स पनि तयारी अवस्थामा छ’, ती प्रहरी अधिकृतले भने। त्यहाँ सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो। आरोपी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधवार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेका थिए।
बिहीवार सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता काफ्लेलगायतले जवाफी बहस गरेका थिए। प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने भन्ने आदेश आजै हुनसक्ने न्यायाधिवक्ता काफ्लेले बताइन्।
लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीसहित लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा पनि मुद्दा रहेको छ।(थाहा खबर)