
काठमाडौँ, माघ १६ । नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा बुधबार शहीद दिवस मनाइँदैछ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइन्छ ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा शहीद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो। यस्तै गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। अचेल माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिएको छ।