विनोदीका कवितामाथि कोरिएका चित्रहरूको सामूहिक प्रदर्शनी ‘सह-सम्बन्ध’ शुक्रबार समापन भएको छ

गैँडाकोट, माघ २५ । सन्तकवि एवं चित्रकार गोविन्दराज विनोदीका कवितामाथि कोरिएका चित्रहरूको सामूहिक प्रदर्शनी ‘सह-सम्बन्ध’ को शुक्रबार समापन गरिएको छ । प्रदर्शनी माघ १५ गतेबाट सुरू भएको थियो ।

गैंडाकोट-५ स्थित जानकी ग्यालरीमा आयोजित प्रदर्शनीमा ४४ जना चित्रकारका ५५ वटा सिर्जना राखिएका थिए । यीमध्ये ४१ वटा चित्र बिक्री भई ९ लाख ९२ हजार रूपैयाँ सङ्कलन भएको छ । सङ्कलित रकम सन्तकवि विनोदीलाई उनको उपचारका लागि हस्तान्तरण गरिने छ ।

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले प्रदर्शनी आयोजना गरेका हुन् । सहआयोजकमा हामी कलाकार र त्रिवेणी साहित्य प्रतिष्ठान थिए ।

प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी थिए । नगर प्रमुख अधिकारीले सन्तकवि विनोदीको उपचारका लागि आर्थिक सहयोग जुटाउन प्रदर्शनीको आयोजना गरिएको प्रष्ट पारे ।

सन्तकवि विनोदीले आफूलाई दया होइन,माया चाहिएको बताउँदै सदैव कलाकारहरूले माया गरेको सुनाए । क्यान्सर रोगसँग लडिरहेका सन्तकवि विनोदीले उपचारका लागि संस्थागत सहयोग स्वीकार गरेको तर व्यक्तिगत सहयोग स्वीकार नगर्ने बताए । उनले प्रदर्शनीमा राखिएका चित्र र चित्तीरकारको परिचय एवं  चित्रसँग सम्बन्धित कविता समेटेर पुस्तक प्रकाशन गरिने जानकारी दिए । ( सूर्य प्रकाश कण्डेलको समाचार)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको