
गैंडाकोट, माघ २६ । मातृभूमि टोल विकास संस्था गैडाकोट ५ ले आठौँ वार्षिक साधारण सभा तथा पाँचौं कार्यकालका लागि बिन्दु सापकोटा लामिछानेलाई संस्थाको जिम्मेवारी दिँदै ११ सदस्सिय कार्यसमिति गठन गरेको छ।
आफ्नै टोलभित्र रहेको गैंडाकोट रिसोर्टको सभाहलमा वार्षिक साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रम सम्पन्न भएको हो। वडा नम्बर ५ का वडाध्यक्ष रत्न प्रसाद सापकोटा कार्यक्रमका प्रमुख अतिथि रहेका थिए। आठौँ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख अतिथि सापकोटाले टोल विकास संस्था स्थानीय विकासको संवाहक भएको बताउँदै समुदायमा भएका समस्या पहिचान गरि समाधान गर्नेदेखि टोलको भौतिक विकासमा समेत संस्थाका प्रतिनिधिले सक्रियरुपमा जिम्मेवारी बहन गर्नुपर्ने बताए । कार्यक्रममा विशेष अतिथि वडा जनप्रतिनिधिहरू दोर्ण वन सन्यासी उषा परियार, वडा सन्जालकी अध्यक्ष कुमारी रेखा पौडेल, लगायत गोविन्द रिमाल, राधा कण्डेल, मुकुन्द उपाध्याय, सरोज प्रसाद कँडेल, शालिकराम सापकोटा, तारा शर्मा लगायतका अतिथिहरू रहेका थिए। सभामा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति ईश्वरी प्रसाद घिमिरेले आफ्नो कार्यकालमा गरेका कार्यसम्पादन सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सहयोग गर्नुभएका सम्पूर्ण टोलबासीहरुलाई धन्यवाद व्यक्त गरेका थिए। संस्थाकी सचिव बिन्दु सापकोटाले सचिव प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन सुधा ज्ञवाली, स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष पार्वती रिमालले सभामा राखेका थिए । आठौँ वार्षिक साधारण सभा लगत्तै पाँचौं कार्यसमिति निर्माणका लागि गोविन्द रिमालको संयोजकत्वमा इन्द्रराज पौडेल र राधा कण्डेल रहेको तीन सदस्य निर्वाचन समिति गठन गरिएको थियो। उक्त समितिले बिन्दु सापकोटा लामिछानेको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ। समिति उपाध्यक्ष तारा शर्मा, सचिव चुन्नप्रसाद न्यौपाने, सहसचिव विष्णु सापकोटा रिमाल, कोषाध्यक्ष कृष्णप्रसाद काफ्ले र सदस्यहरूमा हरिबहादुर कुँवर, तोयानाथ पौडेल, चुडामणी तिवारी, टिका ढकाल, कृष्ण चापागाई रहेका छन्। साधारण सभा तथा अधिवेशन कार्यक्रमलाई सचिव बिन्दु सापकोटाले सहजीकरण गरेकी थिइन्।