
गैंडाकोट माघ २६ । पारिजात टोल विकास संस्था गैंडाकोट ५ नवलपुरको सातौँ साधारण सभा कार्यक्रम शनिबार संस्थाले भर्खर खरिद गरेको आफ्नै जग्गामा सम्पन्न गराएको छ।
सभाका विशेष अतिथि नगर प्रमुख मदनभक्त अधिकारी रहेका थिए । संस्थाको सातौं साधारण सभालाई उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले नगरभित्र रहेका टोल बिकास सस्थाले गरेका हरेक विकास निर्माणका कार्यहरू परिमाणमुखि हुने भएकाले टोल विकास संस्थाहरूलाई नगरले गर्नुपर्ने साथ सहयोगलाई निरन्तरता दिने बताउँदै पारिजात टोल विकासले आफ्नै जग्गा खरिद गर्न सफल भएकोमा बधाई दिए। कार्यक्रमका विशेष अतिथि वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले वडा सरकारको सबैभन्दा सानो निकाय टोल भएकाले टोलले हरेक काम कार्यहरूको सिफारिस गर्दा सचेतना अपनाउनुपर्ने बताउँदै टोलले आफ्नै जग्गा खरिद गरेको र चाँडै नै भवन निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा वडा जनप्रतिनिधिहरू दोर्ण वन सन्यासी, तुलसी गौतम, उषा परियार, वडा सञ्जाल अध्यक्ष कुमारी रेखा पौडेल, शालिग्राम सापकोटा, पदम चालिसे, मनुकला ढुङ्गाना, सुवृत दाहाल, राज कण्डेल, तारादेवी शर्मा, तुलसी कण्डेल, कृष्णप्रसाद काफ्ले, छविलाल ढुङ्गाना लगायत अतिथि रहेका थिए।
सभामा सचिव प्रतिवेदन सचिव नारायण पौडेल कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आफ्नै टोलभित्र रु २० लाख बराबरको आफ्नै जग्गा खरिद गरिएको कोषाध्यक्ष ऋषिराम सापकोटाले आफ्नो प्रतिवेदनमा जनाएका छन्। यसैगरी सभामा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य उपाध्यक्ष राजन रेग्मी ले गरेका थिए। सभा टोल अध्यक्ष भूपेन्द्र कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो।