कविता – मुर्झाएको वसन्त

(मुर्झाएको वसन्त)

मन कुँडिएर आँखाहरू रसाउँदा

बर्सन्छ तेजाबी रोदन !

फूलका डाँठहरूमा

कमलपित्तका जीवाणु छिरेर

सेतो र धमिला धुँवाहरूका

कवज भिरेर बादलका सेनाहरू

डुल्दछन् खुर्खुरे पहाडहरू तिर

छ पहाड तम्किएको

आद्रता सोसिएर रन्किएको

तै

सुकेनासले गलेको शरीर लिएर

कस्सिएको छ वसन्त

ऋतुचक्रको रोटेंपीङ् घुमाउन।

उक्लिएको छ डाडाँका टाकुरातिर घाम

लुछेर वनवृक्षका हरिया खुसीहरू।

चराहरूका प्रथम गीतहरू

शावक पोथ्राहरूका प्रथम नाँचहरू

घुम्ती र मोडहरूका नदीसुसेलीहरू

छन् उदास,नीरस र पट्यार लाग्दा।

सुकेका झर्नाहरूमा मरेका लेउका प्राप्राहरूको मृत्यूमा

स्वमं मरेको छ समय।

दौडेको छ समय वसन्त विहिन भएर

त्यसैले त यो मध्य वैशाखमा

रोइरहेछ क्वैली

काफलका बुटाहरूले छन्

नुनका ढिक्का फलाएका।

म भने

जीवन र जवानीको कामना गरिरहेछु।

सुतेर मृत्यु शैय्यामा

पन्छाउँदै मेरा शव माथी

मुर्झाएका सयपत्रीका थुंगाहरू

हसक्क गन्हाएका पारिजातका फूलहरू

र सबै संवेदनाका अन्त्य गर्दै

दन्किरहेछन् काला ज्वालामा

श्रीखण्डका डाँठहरू।

म त्यही चितामा जलिरहेछु।

जल्दै कामना गरिरहेछु

जीवन र जवानीको।

समाप्ति सबैको र

प्राप्ति मेरा निकट आफन्तहरूको।

किनकी वसन्त मुर्झाएकोछ।

 

-गैंडाकोटका कवि एकदेव घिमिरेको भर्खर मात्र बजारमा आएको कविता संग्रह चिसो बाकस संग्रहमा संग्रहित कविता ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको