
कावासोती, चैत २५ । सबै नागरिकको स्वास्थ्य बीमामा आबद्धता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता ” यस वर्षको यही नारा लिएर आफ्नो नवौं स्थापना दिवस विभिन्न कार्यक्रम गर्दै सोमबार मनाएको छ। दिवसकै अवसर पारेर नवलपुर जिल्लाले आफ्नै कार्यालय परिसरमा जिल्लाभरका दर्ता सहयोगीसँग अन्तरक्रियात्मक कार्यक्रम गर्दै दिवस मनाएको छ।
नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम कैलाली जिल्लाबाट २०७२ साल चैत्र २५ गते देखि सुरुवात गराएको थियो। सोही दिनको अवसर पार्दै हरेक वर्ष चैत्र २५ गते स्वास्थ्य बीमा स्थापना दिवस मनाउने गरिन्छ । सोही अवसरमा नवलपुर जिल्लामा पनि नवौँ स्वास्थ्य बीमा दिवस मनाइएको छ। नवलपुर शाखाले स्वास्थ्य बीमासँग सम्बन्धित सरोकारवालाहरू तथा जिल्लाभर रहेका ९२ वडाका दर्ता सहयोगीहरूसँग अन्तरक्रियात्मक कार्यक्रम गर्दै दिवस मनाएको नवलपुर जिल्ला संयोजक ध्रुवराज बोगटीले बताए । दिवसको अवसरमा स्वास्थ्य बीमाले पुर्याउने सहयोगका बारेमा आम जनतालाई बुझाउँदै स्वास्थ्य बीमा गराउन प्रेरित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। साथै दर्ता सहयोगीका समस्याहरूका विषयमा पनि सोही अवसरमा चर्चा गरिएको थियो । कार्यक्रममा दर्ता अधिकारीहरू कृष्णबहादुर साउत ,एकेन्द्र थापा, हरिप्रसाद सुवेदी, डोलकुमारी ढकाल लगायतको उपस्थिति रहेको थियो।
नवलपुरमा २०७७ सालदेखि बीमा कार्यक्रम लागू भएको र हालसम्म जिल्लामा रहेका सबै ८ वटा पालिकामा हालसम्म लगभग ३४ हजार घरपरिवार स्वास्थ्य बिमामा आवद्ध भएको जानकारी सोही अवसरमा गराइएको थियो।