गैँडाकोट, बैशाख ३१ । पूर्वी नवलपरासीको गैँडाकोटमा जेठ ३ गतेदेखि ७ गतेसम्म सातौँ उपमेयरकप अन्तर विद्यालय छात्रा फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजना तथा सुनगाभा युवाक्लवको सहयोगमा हुने सो प्रतियोगितामा नगरभित्रका १९ वटा विद्यालयहरु सहभागि हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले १८ वर्ष उमेरभित्रका कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुले प्रतियोगितामा भाग लिने बताउनुभयो ।प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितीय हुने समूहलाई ३५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ समूहलाई नगद १७ हजार रुपैँया प्रदान गरिने छ । त्यसबाहेक बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक दुर्गा घिमिरेले जनाकारी दिनुभयो । प्रतियोगिातमा सहभागि हुने सबै खेलाडीहरुको १ लाख बराबरको दुर्घटना विमा समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. ११ मा रहेको भेडाबारी खेलकुद मैदानमा जेठ ३ गते दिउसो ४ वजे गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले छात्रा फुटवल प्रतियोगिातको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन खेलमा जनक नमूना माध्यामिक विद्यालय गैँडाकोट ५ र बालज्योति माध्यामिक विद्यालय गैँडाकोट १८ विच खेल हुनेछ । गतवर्ष सम्पन्न छैँठौ उपमेयरकम अन्तर विद्यालय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनक नमूना माविले उचालेको थियो ।
गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सदस्य गजेन्द्र बन सन्यासी, नेराश माविका प्राचार्य इन्द्रराज भट्टराई, गैडाकोट नगरखेलकुद विकास समितिका सदस्य सचिव रामप्रसाद अधिकारी लगायतका अतिथिहरु रहनुभएको थियो ।







