गैँडाकोट, जेठ ०६ । गैँडाकोटमा जारी सातौँ उपमेयरकप छात्रा फुटबल प्रतियोगिताको क्वार्टरफाइनल चरण आजबाट सम्पन्न भएको छ। । सोमबार सम्पन्न चारवटै खेलमा विजय सामुदायिक शिक्षा सदन, बालज्योती माध्यमिक विद्यालय, रत्नराज्य लक्ष्मी मावि र अम्मर ज्योती माविले आआफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
पहिलो क्वार्टरफाइनल खेलमा विजय सामुदायिक शिक्षा सदनले नेरास माविमाथि एकतर्फी जित निकाल्यो। विजयले सुरुदेखि नै खेलमा पकड बनाउँदै ४–० को फराकिलो अन्तरले प्रतियोगिताबाट नेरासलाई बाहिरिन बाध्य बनायो ।
दोस्रो खेलमा बालज्योती माध्यमिक विद्यालयले अम्मर इङ्लिस सेकेन्डरी स्कुलविरुद्ध सशक्त प्रदर्शन गर्दै २–० को जित हात पा¥यो । खेलभर उत्कृष्ट समन्वय र मिडफिल्ड नियन्त्रण कायम राख्न सफल बालज्योतीले दुवै गोल पहिलो हाफमै गर्यो ।
तेस्रो क्वार्टरफाइनल खेलमा रत्नराज्य लक्ष्मी माविले कालिका माविलाई ४–० को अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो। रत्नराज्य लक्ष्मीको आक्रामक खेलशैलीका अगाडि कालिका मावि निरुत्तर बन्यो।
चौथो तथा अन्तिम क्वार्टरफाइनलमा अम्मर ज्योति माविले स्मल हर्ट एकेडेमीमाथि ७–० को सहज जित हात पा¥यो। खेलको सुरुवातदेखि नै अम्मर ज्योतीले खेलमा पकड जमाउँदै स्मलहर्ट माथि आक्रामक जारी राखेको थियो ।
प्रतियोगिताका संयोजक दुर्गा घिमिरेका अनुसार उपमेयरकप प्रतियोगितामा गैँडाकोट नगरभित्रका १९ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउने उद्देश्यले पुरस्कार व्यवस्थापन समेत आकर्षक बनाइएको छ ।
उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ५१ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने समूहले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सान्त्वना स्थानमा पुग्ने दुई समूहलाई नगद १७ हजार रुपैयाँका दरले नगद पुरस्कार दिइनेछ ।
व्यक्तिगत प्रदर्शनलाई पनि उच्च मूल्यांकन गरिएको प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद पुरस्कार प्रदान गरिने संयोजक घिमिरेले जानकारी दिनुभयो ।
साथै, प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरूको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा समेत गरिएको छ ।प्रतियोगिता सेमिफाइनल चरणमा प्रवेश गरेसँगै खेलप्रेमी दर्शकहरूको उत्साह झन् बढेको छ । आयोजकले सेमिफाइनल र फाइनल खेललाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।







