गोरखा, जेठ २०। सिन्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा मजदुरहरू दिनप्रतिदिन उग्र बन्दै गइरहेका छन् । आफ्नो कालो नम्बर प्लेटका गाडीहरू थन्क्याएर हड्तालमा उत्रिन आग्रह गरेका उनीहरूले निजी गाडी, पर्यटकका गाडी पनि बन्द गराइरहेका छन् । गाडी तोडफोडदेखि व्यक्तिमाथि कुटपिट गर्न थालेका छन् ।
बन्दकर्ताहरूले सार्वजनिक सडकमा आफ्नै गाडीमा यात्रा गरेका यात्रुहरूमाथि निर्घात कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–१० मिरकोटका कृष्णहरि देवकोटामाथि गत शनिबार कुटपिट गरेका छन् । रातो नम्बर प्लेटको आफ्नै बोलेरो जिपमा सवार उनीमाथि बाह्रकिलोमा आक्रमण गरेका हुन् । ‘गोरखा बजारको ग्यारेजमा गाडी बनाएर घर फर्कँदै गर्दा ममाथि आक्रमण गरे’, उनले भने, ‘उनीहरूले रातो प्लेटको गाडी रोक्ने भनेका थिएनन् । तैपनि रोके । म रोकिएँ । एकछिन पख्नु, चिया, चिसो खाँदै गर्नु भने । म भोलाको पसलमा चिसो खाँदै थिएँ । त्यही बेला एक्कासी नेत्रबहादुर कुमाल आएर मलाई आक्रमण गरे । तँलाई जहाँ भेटे पनि मार्छु भनेर धम्की पनि दिए ।’
उनीविरुद्ध प्रहरी चौकी रातामाटे सेरामा जाहेरी दर्ता गरेको देवकोटाले बताएका छन् । कुटाइ खाएको दुखेसो सुनाउँदै प्रहरी समक्ष पुग्दा शरण दिनुको साटो प्रहरीले उल्टै आफूलाई दुई हजार रुपैयाँ जरिवाना तिराएको उनको गुनासो छ । त्यस्तै, गोरखा नगरपालिका–१० टक्सारका अञ्जन घर्ती र वडा नं. ९ टक्सारका प्रशान्त आलेमाथि पनि कुटपिट भएको छ ।
निजी नम्बर प्लेटको बोलेरो जीपमा पसलको सामान बारपाक पुर्याएर फर्किँदै गर्दा आइतबार राति १२ बजे गोरखा नगरपालिका–१० छेपेटारमा उनीहरूमाथि कुटपिट गरिएको हो । बाटो छेकेर बसेका बन्दकर्ताहरूले कुटपिट गरेका पीडितहरूले बताएका छन् । आआफ्ना भाडाका सवारीसाधन थन्क्याएर आन्दोलनमा उत्रिन आग्रह गरे पनि निजी सवारी साधनका यात्रु कुटिएका छन् । निजी सवारी साधनका यात्रु असुरक्षित हुँदा पनि राज्य संयन्त्र, सुरक्षा निकाय मौन छन् । कमजोर सुरक्षा व्यवस्था भएको अवस्थामा जो–कोही, जहाँ पनि, जहिले पनि असुरक्षित हुने भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।(अन्नपूर्णबाट)







