
गैंडाकोट, असार ५ । गैंडाकोट नगरपालिकाले व्यवसायीकै निजी खर्चमा राखिएका विज्ञापन बोर्डहरूमा समेत कर लगाउने आदेश दिएपछि व्यापारी हरू आक्रोशित बनेका छन् ।
नगरपालिकाले अन्य विज्ञापन कम्पनीहरूलाई समेत कर संकलनको जिम्मा दिएपछि स्थानीय व्यवसायीहरूले उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। अहिले उक्त निर्णयको सामाजिक सञ्जालहरूमा व्यापक विरोध भइरहेको छ। स्थानीय व्यवसायीहरूले सामाजिक सञ्जाल मार्फत “हामीले व्यवसाय सञ्चालन गर्दा विभिन्न शीर्षकमा कर तिर्दै आएका छौं। अब आफ्नो पसल अगाडि राखिएको बोर्डमा पनि कर तिर्नुपर्ने निर्णय अन्यायपूर्ण छ, म कर तिर्दिन” लगायतका नाराहरू लिएर विरोधमा उत्रिएका हुन्। सोही विषयमा गैंडाकोट उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष दीपक सापकोटाले सम्पूर्ण व्यवसायीहरुले आर्थिक मन्दि भोग्नुपरेको अवस्थामा नगरपालिकाले ल्याएको यो निर्णयको घोरभर्षना गर्दछौँ। उनले असार ६ गते बिहान ९: ३० बजे नगरपालिकाले गरेको गलत निर्णयप्रति सजग बनाउँदै ज्ञापनपत्र बुझाउने र निर्णयप्रति विरोध प्रदर्शनको कार्यक्रम नगरपालिका मुख्य गेटमा गरिने समेत जानकारी गराए।
नगरपालिकाले विज्ञापन तथा सूचना बोर्डहरूबाट स्थानीय राजस्व वृद्धिको उद्देश्यले कर असुल्न थालेको जनाएको छ। तर व्यवसायीहरू भने सो निर्णय बिना परामर्श गरिएको भन्दै आन्दोलित देखिएका छन्। सोही प्रसङ्गमा नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष सुजन अधिकारीले “व्यवसायीहरूलाई कुनै जानकारी वा छलफल बिना एकातर्फी निर्णय लागू गर्नु गलत हो। हामी आवश्यक परे आन्दोलनमा उत्रन तयार हुने जनाएका छन्।