
गैंडाकोट, असार ९ । गैंडाकोट नगरपालिकामा ३८ दिने ब्युटिसियन तालिम एक समारोहका साथ सम्पन्न भएको छ ।
लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको आर्थिक सहयोग तथा किङ मल्टी प्रपोज प्रालीको व्यवस्थापन र गैंडाकोट नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको उक्त तालिममा गैंडाकोट नगरपालिकाका विभिन्न वडाबाट आएका २३ जना महिलाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै सिकिएको सीपलाई व्यवहारमा ल्याउनका लागि आग्रह गर्दै साना स्तरमै भए पनि व्यवसायको थालनी गर्न चाहनुभएमा नगरपालिकाले आवश्यक सहयोग गर्न सधैं तत्पर हुने धारणा व्यक्त गरे । कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भएका लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका उपसचिव रामकृष्ण श्रेष्ठले “ब्युटिसियन जस्तो पेसामा दक्षता हासिल गरेपछि महिलाहरूले आफ्नै घरबाटै पनि आम्दानी गर्न सक्ने र यसले उनीहरूको जीवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रम मा विशेष अतिथिका रुपमा नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नगर रोजगार संयोजक तारा उपाध्याय तथा तालिम प्रशिक्षक संगीता आचार्य र रेखा पौडेल समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सबै अतिथिहरूले महिलाहरूको सीप अभिवृद्धि गरी उनीहरूलाई स्वरोजगारमा प्रेरित गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताएका थिए। तालिमपछि सहभागी महिलाहरूले ब्युटिसियन पेसामा लागेर आत्मनिर्भर बन्न सक्ने अपेक्षा आयोजक संस्थाको रहेको छ ।
नगरकार्यपालिका सदस्य शान्ति न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत भएको उक्त कार्यक्रम समापन समारोह गैंडाकोट वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षता तथा गीता देवकोटाको सहजीकरणमा सम्पन्न भएको थियो ।