नेवा : मिसा दबुले गर्यो समीक्षा बैठक तथा सम्मान कार्यक्रम

गैडाकोट, असार २८ । नेवा : मिसा दबु गैडाकोट नगर समितिको आयोजनामा समीक्षा बैठक तथा सम्मान कार्यक्रम शनिबार गैंडाकोट २ स्थित दुर्गा मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले विगतमा सम्पन्न सांस्कृतिक गतिविधिहरूको समीक्षा गर्नुका साथै ती कार्यक्रमहरूमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान  गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेवा :देय दबु गण्डकी प्रदेश अध्यक्ष मथुरा कृष्ण श्रेष्ठले आफ्नो मन्तव्यका क्रममा संस्कार र संस्कृतिलाई नेपाली समाजको जिउने आधारको रूपमा प्रस्तुत गरे। उनले भने “संस्कार र संस्कृति जन्मदेखि मृत्युसम्म जीवनलाई मार्गदर्शन गर्ने आधारशिला हुन्। यिनको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो।” उनले कार्यक्रमको सफलताप्रति शुभकामना पनि व्यक्त गरे।

उक्त अवसरमा नेवा देय दबु गण्डकी प्रदेशका सदस्य कृष्णकुमार श्रेष्ठ, नेवा देय दबु गैडाकोट नगर समितिका अध्यक्ष शिवजङ श्रेष्ठ, नेवा : मिसा दबु जिल्ला समितिका उपाध्यक्ष चिजा श्रेष्ठ, नारायणी नवदुर्गा मन्दिर सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

समीक्षा बैठककै अवसरमा विगतमा आयोजित विविध सांस्कृतिक कार्यक्रमहरूमा उल्लेखनीय योगदान पुर्‍याएका स्थानीय सञ्चारमाध्यमहरूलाई सम्मान गरिएको थियो। नेवा : मिसा दबु गैडाकोट नगर समितिले रेडियो संकेत, मुकुन्दसेन टेलिभिजन, र विजय एफएमलाई सक्रिय समाचार संकलन तथा प्रचारप्रसारमा पुर्‍याएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान-पत्र प्रदान गरेको हो।

कार्यक्रमको सुरुवात नेवारी राष्ट्रिय गानबाट गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेवा : मिसा दबु नगर समितिकी सदस्य विमला श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सभापतित्व नगर समिति अध्यक्ष सीता श्रेष्ठको रहेको थियो । श्रेष्ठले समापन मन्तव्य राख्दै यस संस्थाले नेवा समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै सहयोगी संस्था र व्यक्तिहरूप्रति आभार प्रकट गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको