गैंडाकोट आधारभूत अस्पतालमा समेत स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु शुभारम्भ

गैँडाकोट, भाद्र १ । गैँडाकोट ५ स्थित गैँडाकोट आधारभूत अस्पतालमा आजदेखि स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु शुभारम्भ गरिएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला, नगरपालिकाका निवर्तमान नगरप्रमुख छत्रराज पौडेल, नगरका प्रशासकीय अधिकृत झविन्द्र खनालसहित सबै वडाका वडाध्यक्षहरू र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता नगरप्रमुख मदनभक्त अधिकारीले गरेका थिए । स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले प्रस्तुत गर्दै नगरले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको बताए।

 

प्रमुख अतिथि डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई ग्रामीण तहसम्म प्रभावकारी रूपमा विस्तार गर्न बोर्ड प्रतिबद्ध रहेको बताए। उनले स्वास्थ्य बीमाको पहुँच बढे सँगै स्थानीयवासीले सस्तो, सरल र गुणस्तरीय उपचार सेवा पाउने उल्लेख गरे।

 

विशिष्ट अतिथि नगर उपप्रमुख शान्ति कोइरालाले नगरस्तरमै स्वास्थ्य सेवा सहज बनाउन बीमा कार्यक्रम महत्वपूर्ण हुने बताउँदै यसलाई प्रभावकारी बनाउन नगरवासीको सहकार्य आवश्यक हुनेमा जोड दिइन्। त्यस्तै, निवर्तमान नगरप्रमुख छत्रराज पौडेल र अन्य वक्ताहरुले स्वास्थ्य बीमा सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै तहको सक्रियता जरुरी रहेको धारणा राखे।

 

नगरप्रमुख मदनभक्त अधिकारीले स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनु गैँडाकोट नगरवासीका लागि ऐतिहासिक उपलब्धि भएको टिप्पणी गरे। उनले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखी आधारभूत पूर्वाधार र जनशक्ति व्यवस्थापनमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै, “अब बीमा प्रणालीमार्फत नगरवासीलाई उपचारको बोझ कम गर्ने लक्ष्यसहित अघि बढ्छौँ,” उनले आफ्नो मन्तव्यमा भने ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको