गैंडाकोट, भाद्र ९ । हरितालिका तीज व्रत नजिकिएसँगै सनातन धर्मावलम्बी महिलाहरू सोमबार दर खाने तयारीमा व्यस्त भएका छन्। तीजको अघिल्लो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा रही आएको छ। भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले दरलाई व्रतको ‘पूर्वतयारी’ को रूपमा लिइन्छ।
परम्पराअनुसार माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने, दिदीबहिनीहरू भेला भई रमाइलो गर्ने र घरघरमा समेत परिवारसँगै दर खाने चलन रहेको छ। दरका रूपमा खिर, ढक्ने, चाम्रे, सेलपुरी, पुआ, गुँदपाक, फलफूल र मौसमअनुसारका तरकारी तथा अचार खाने प्रचलन छ। सात्विक खानेकुरा खाने परम्परा भए पनि अचेल पार्टी प्यालेसमा भोज गर्ने र तामसिक परिकारलाई समेत ‘दर’ को रूपमा खाने प्रवृत्ति बढेको संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन्।
धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमका अनुसार दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने धार्मिक मान्यता छ। परम्परागत दरले व्रतका दिन आडिलो बनाउने विश्वास गरिन्छ।







