गैंडाकोट, भाद्र १३ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको कार्यक्रमअन्तर्गत गैँडाकोट नगरपालिकामा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ।
गैँडाकोटका शिक्षकहरूले नगरपालिकामा धर्ना दिँदै प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए। महासंघ नवलपरासी (ब.सू.पूर्व) का उपाध्यक्ष हिमालदेव पंगेनीले पत्र वाचन गर्दै विगतका सहमतिहरू शिक्षा विधेयकमा समावेश नगरेकाले आन्दोलनमा उत्रिनु परेको बताए। खनालले शिक्षकका माग सम्बद्ध निकायसम्म पुर्याउने प्रतिबद्धता जनाए।
वि.सं २०७५, २०७८, २०८० र २०८१/८२ मा भएका आन्दोलनपछि सरकारसँग भएका सहमतिहरू विधेयकमा समेटिन नसकेको भन्दै महासंघले आपत्ति जनाएको छ। अस्थायी शिक्षकको पदपूर्ति, स्थायी शिक्षकको बढुवा, अध्यापन अनुमतिपत्र नवीकरण, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको सेवा-सुरक्षा, संस्थागत विद्यालयका शिक्षकको हकहितलगायतका माग पत्रमा उल्लेख छन्।
कार्यक्रमका प्रमुख अतिथि महासंघ नवलपरासी (ब.सू.पूर्व) का अध्यक्ष इन्द्रराज भट्टराईले नयाँ माग नभई विगतका सहमतिहरूलाई मात्र सम्बोधन गर्नुपर्ने बताउँदै सबै शिक्षकलाई महासंघको कार्यक्रममा सहभागी हुन आग्रह गरे।
धर्नामा प्रदेश र जिल्ला तहका विभिन्न शिक्षक संगठनका पदाधिकारी, विद्यालय प्रमुख तथा शिक्षकहरूको सहभागिता थियो। कार्यक्रम उपाध्यक्ष पंगेनीको अध्यक्षता र शिक्षक जगन्नाथ उपाध्यायको सहजीकरणमा सम्पन्न भएको हो।







