नवलपुर, भाद्र १४ । नवलपुरको हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छता तथा हरियाली अभियान सञ्चालन गरेको छ । गैंडाकोट नगरपालिका-१२, हर्कपुरमा रहेको होटलले शनिबार पूर्व-पश्चिम राजमार्गको डिभाइडर तथा सडक छेउछाउमा रहेका घाँस, झाडी, बुट्यान सफा गर्नुका साथै सडकमा भएका प्लास्टिक र अन्य फोहोर संकलन गरी सरसफाइ सम्पन्न गरेको हो ।
होटलका महाप्रबन्धक प्रदीप न्यौपानेका अनुसार, सेवा शुभारम्भसँगै स्थानीय समुदायसँग सहकार्य गर्दै सार्वजनिक सरसफाइमा योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिएको बताउँदै न्यौपानेले स्थानीय समाजसँग मिलेर अझ धेरै सामाजिक काम गर्ने हाम्रो योजना भएको बताएका छन् ।
हर्कपुरमा सेवा विस्तार गरेको इला कम्फर्ट, इला ब्राण्डअन्तर्गतको तेस्रो आउटलेट हो । यसअघि बागलुङमा इला कम्फर्ट र गैंडाकोटको मौलाकाली डाँडामा इला रिसोर्ट मौलाकाली सञ्चालनमा आइसकेका छन् । होटलका सञ्चालक सचिन ढकालले इलाले नेपालको मौलिक आतिथ्य सत्कारलाई प्रवर्द्धन गर्दै पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई जोड्ने योजना बनाएको जानकारी दिँदै नेपालका हरेक ठाउँले आफ्नै सुन्दरता बोकेका छन् । आन्तरिक र विदेशी पर्यटकलाई आकर्षित गर्दै गुणस्तरीय सेवा-सुविधा उपलब्ध गराउन सकिए यसले नेपालको पर्यटन विकासमा टेवा पुर्याउने उनको दाबी छ ।
हर्कपुरस्थित इला कम्फर्टमा सुविधासम्पन्न ३५ कोठा तथा ठूलो क्षेत्रफलमा वाटर पार्कसमेत रहेको छ । नेपालकै सुप्रसिद्ध आइएमई समूह अन्तर्गतको इला होटल एण्ड रिसोर्ट्सले हाल आक्रामक रूपमा आफ्नो सेवा विस्तार गर्दै विभिन्न क्षेत्रमा पर्यटकीय आयोजनाहरू सञ्चालन गरिरहेको छ ।








