काठमाडौँ, असोज ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा आफ्नो पार्टीको सक्रिय सहभागिता रहेको स्वीकार गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको स्पष्ट पारेका हुन्।
उनका अनुसार पार्टीले झण्डा नबोकी व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन सदस्यहरूलाई आह्वान गरेको थियो। “हाम्रो पार्टीमा जेनजी अहिले पनि हुनुहुन्छ। प्रतिनिधि सभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ। उहाँहरू पनि जानुभएको थियो,” उनले भने।
पूर्व केन्द्रीय सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की, कान्तिशिखा लगायतले आन्दोलनमा अग्रणी भूमिका खेलेको समेत उनले खुलासा गरे। उनले थपे, “सम्भवत: अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, तर कतै पनि रास्वपाको आन्दोलन भनेर दाबी गरेका थिएनौँ।”
तर, उनले २४ भदौको घटनामा भने रास्वपाको कुनै संलग्नता नरहेको दाबी गरे। “२४ गतेका घटनामा सहभागी हुन पार्टीले कुनै आव्हान गरेको थिएन,” उनले स्पष्ट पारे।







