गैंडाकोटमा एकदिवसीय विशेष स्वास्थ्य सेवा शिविर सम्पन्न

गैंडाकोट, कार्तिक २२ । गैंडाकोट-५ स्थित गैंडाकोट आधारभूत अस्पतालमा आज एकदिवसीय विशेष स्वास्थ्य सेवा शिविर सम्पन्न भएको छ। वैकुण्ठनगर टोल विकास संस्थाको संयोजकत्वमा भएको सो शिविरमा स्त्री रोग, हाडजोर्नी तथा नशा, दाँत (ओरल क्यान्सर) र जनरल फिजिसियन सेवा जस्ता विविध स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।

शिविरको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता कार्यक्रमले नागरिकको स्वास्थ्यप्रति सचेतना र पहुँच दुवै बढाउने विश्वास व्यक्त गरे। उनले नगरपालिकाले आधारभूत स्वास्थ्य संस्थाहरू सुदृढ बनाउन र समुदायस्तरमा नियमित स्वास्थ्य कार्यक्रम विस्तार गर्न प्राथमिकता दिएको बताए।

त्यसैगरी गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष  रत्नप्रसाद सापकोटाले नगरको समग्र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि नागरिक-संस्था सहकार्यको उदाहरणका रूपमा वैकुण्ठनगर टोल विकास संस्थाको पहल सराहनीय रहेको टिप्पणी गरे। उनले स्थानीय संस्थाले सञ्चालन गर्ने यस्ता जनमुखी कार्यक्रमले सरकारी स्वास्थ्य योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजता पुर्‍याउने बताए।

शिविरका आयोजक वैकुण्ठनगर टोल विकास संस्थाका अध्यक्ष खगराज कँडेलले समुदायका स्वास्थ्य समस्या चिन्न र समाधानका उपायहरू खोज्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए। उनका अनुसार स्थानीय बासिन्दाले सेवाप्रति ठूलो उत्साह देखाएका थिए र सयौंले विभिन्न विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श र उपचार सेवा प्राप्त गरे। नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा विशेष अतिथि झलक पौडेल, रत्नप्रसाद सापकोटा, बालकृष्ण पराजुली, लगायत शान्ति न्यौपाने, द्रोणवन शन्यासी, उषा परियार, तुलसीराम गौतम, नवराज कँडेल, बालकृष्ण पराजुली लगायत अतिथिहरू रहेका थिए।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले बिहान ८ बजेबाट सेवा प्रदान गरेका थिए । शिविरमा ४०० बढी महिला पुरुषले सेवा लिएको शिविर सह-संयोजकका रूपमा मातृभूमि, समुन्नति, सगरमाथा, गणेश मन्दिर, पारिजात टोल रहेका थिए। शिविरलाई मनकामना अस्पताल, गैंडाकोट डेन्टल र धौलागिरी मेडिसिन डिस्ट्रिब्युटर्सले प्राविधिक सहयोग गरेका थिए भने गैंडाकोट ५ वडा कार्यालय, हेल्दीहोम एन्ड डेरी सप र मिड पोइन्ट इन्जिनियरिङले आर्थिक सहयोग गरेका थिए। मातृभूमि टोलकी अध्यक्ष बिन्दु लामिछानेले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमलाई शालिग्राम सापकोटाले सहजीकरण गरेका थिए। उक्त विशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको