गैंडाकोट, कार्तिक २६ । युरोपेली मुलुक स्लोभाकियामा वैदेशिक रोजगारीका नाममा गरिएको ठूलो ठगी धन्दा सार्वजनिक भएको छ। लाखौँ रुपैयाँ बुझाएर पठाइएका सयौँ नेपाली श्रमिक अहिले रोजगारी र कानुनी सुरक्षाविहीन अवस्थामा अलपत्र परेका छन्।
पीडितहरूका अनुसार करिब पाँच महिनाअघि भरतपुर-१४ का राम बिक (नाम परिवर्तन) सहित करिब २०० जना श्रमिकलाई ‘वर्क कन्ट्रोल’ नामक भिसा मार्फत स्लोभाकिया पठाइएको थियो। तर वाचा गरिएको काम आजसम्म प्राप्त भएको छैन।
करिब सय जना अझै बेरोजगार रहेका छन् भने बाँकीलाई वाचा विपरीत अन्य काममा लगाइएको र तलबको आधा मात्र-मासिक ४५० युरो दिइरहेको पीडितहरूले बताएका छन्। पठाउँदा १,००० युरो तलब, खाना र आवास सुविधा दिने आश्वासन दिइएको थियो, तर ती सुविधा पनि पर्याप्त रूपमा प्राप्त नभएको उनीहरूको गुनासो छ।
१४ लाखसम्म असुल्ने, रसिद नदिने आरोप
श्रमिकहरूलाई पठाउने जिम्मा भरतपुरका सुरेश परियार र नारबहादुर क्षेत्रीलाई दिइएको खुलेको छ। उनीहरूले नयाँ कामदार पठाउँदा प्रति व्यक्ति १४ लाख रुपैयाँसम्म असुल्ने तर रसिद वा बिल नदिने गरेको प्रमाण फेला परेको छ।

यस ठगी सञ्जालमा भारत र बंगलादेशका व्यक्तिहरूको संलग्नता पनि पाइएको छ। भारतको नोएडा, सेक्टर-१५ मा रहेको कम्पनी यसमा प्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण खुलेको छ। सो कम्पनीको प्रशिक्षण केन्द्र काठमाडौं त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको बताइन्छ।
पीडितहरूले दिएका विवरणअनुसार भारतीय नागरिक अनुप र अखिल, साथै बंगलादेशी नागरिक राजा र जिङ्गो पनि यस धन्दामा संलग्न छन्। नेपालतर्फ गोल्डेन फिडर ओभरसिज नामक कार्यालय भरतपुर बाइपास रोडमा सञ्चालनमा रहेको खुलेको छ।
कानुनी जोखिममा अलपत्र
स्लोभाकिया पठाउँदा श्रमिकहरूलाई तीन महिनाको नेशनल डी-भिसा दिइएको थियो। तर त्यहाँ पुगेपछि एक साताभित्र दिने भनिएको टेम्पोररी रेसिडेन्स कार्ड (टीआरसी) पाँच महिना बित्दा पनि नपाएका कारण उनीहरू कानुनी जोखिममा परेका छन्। टीआरसी नहुँदा उनीहरू न त रोजगारी पाउन सक्ने अवस्थामा छन्, न त सुरक्षित बसाइ सम्भव छ।
वैदेशिक रोजगार विभागको स्वीकृतिबिना पठाइएकाले पीडितहरू अहिले कुनै पनि कानुनी सहायताबाट वञ्चित छन्।
विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले भने, “श्रम स्वीकृतिबिना पठाइने यस्ता अवैध गतिविधिबाट सावधान रहन सबैलाई अनुरोध छ। विभागले ठगी रोक्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।”
सरकारले तत्काल हस्तक्षेप गर्न माग
स्लोभाकियामा अलपत्र परेका नेपालीहरूले नेपाल सरकारलाई तत्काल हस्तक्षेप गर्न माग गरेका छन्। उनीहरूको भनाइ छ “हामीलाई राम्रो तलब दिने भनेर ल्याइयो, तर पाँच महिना बित्दा पनि रोजगारी पाएका छैनौँ। लाखौँ खर्च गरेर आउँदा यहाँ अलपत्र परेका छौँ – फर्किन पनि नसक्ने, बस्न पनि नसक्ने, काम गर्न त झन् नसक्ने अवस्थामा छौँ।” पीडितहरूले ठगीमा संलग्न कम्पनीका कर्मचारीले ट्याक्स हेरफेर गरी अवैध लेनदेन चलाइरहेको प्रमाणसहितका भिडियोहरू समेत पठाएका छन्।
भारत, बंगलादेश र नेपालका एजेन्टहरूको संलग्नतामा ‘गोल्डेन फिडर ओभरसिज’मार्फत कसरी यो ठगी सञ्जाल सञ्चालन भयो भन्नेबारे थप अनुसन्धान अत्यावश्यक रहेको बताइएको छ। (स्रोत: सफल खबर डट कम)







