काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो ।
अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो मागदाबी गर्दै अधिकारी र भण्डारीसहित ५ जना विरुद्ध यहीँ मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिवादीहरू सबैलाई प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ ।







