नवलपुर, मङ्सिर २४ । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पुनः सक्रिय बन्दै गएको छ। क्षेत्रभरि कांग्रेस कार्यकर्ताको उत्साह बढ्दो देखिएसँगै उम्मेदवारी दिनेको भीड समेत बढेको छ। यही भीड व्यवस्थापन गर्दै स्वतःस्फूर्त रूपमा चुनावी अभियानलाई सशक्त बनाउने अभिभारा अब नेपाली कांग्रेसमाथि आएको छ।
क्षेत्र नम्बर १ को भेलाले प्रतिनिधिसभातर्फ डा. शशांक कोइराला, महेन्द्रध्वज जिसी, अमृत श्रेष्ठ, ओमप्रसाद सापकोटा, देव भुसाल, महेन्द्र पोख्रेल, गजेन्द्र बहादुर आले, कमल पराजुली, दाताराम घिमिरे र सरस्वती तिमिल्सिना गरी दर्जनौं नेताको नाम दाबीका रूपमा प्रस्तुत भएको छ। यस्तै राष्ट्रिय सभातर्फ कृष्ण चन्द्र पोखरेल, भानु सिग्देल र द्रोण वनसन्यासीको आकांक्षा सार्वजनिक भएको छ।
समानुपातिकतर्फ ओमकला गौतम, संगीता घिमिरे काफ्ले, विष्णुदेवी पाण्डे, शान्ति न्यौपाने, शान्ति तिवारी, प्रेमबहादुर विश्वकर्मा, क्याप्टेन धनबहादुर मास्की र टोलनाथ घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्। दर्जनौं आकांक्षीबीच सन्तुलन मिलाउनु र सबैलाई एउटै लक्ष्य निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने तर्फ उन्मुख गराउनु अहिले क्षेत्र नम्बर १ को नेतृत्वका लागि मुख्य चुनौती बनेको छ। यसैबीच, कसले अन्ततः बाजी मार्ने हो भन्ने राजनीतिक बहस पनि तीव्र बन्दै गएको देखिन्छ।
कांग्रेस अहिले मूल निर्वाचन तयारीसँगै आन्तरिक समन्वय, एकता र संगठन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै चुनावी अभियानलाई थप प्रभावकारी बनाउन जुटेको छ।







