नवलपुर, २४ मंसिर । विनयी त्रिवेणी गाउँपालिका-२, दुम्किबास रायखोल्सामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
शुक्रबार साँझ रायखोल्सामा घोप्टो अवस्थामा ४१ वर्षीय कृष्ण पुलामी मृत भेटिएको जानकारी प्रहरीलाई प्राप्त भएको हो। पुलामी जिल्ला नवलपुर (पूर्व) देवचुली नगरपालिका-६ घर भई हाल विनयी त्रिवेणी-२ मा सिजीलाल तामाङको घरमा डेढ वर्षदेखि डेरा गरी बसेका थिए।
घटनास्थल डेराबाट करिब २०० मिटर पूर्व रहेको प्रहरीले जनाएको छ। मृतकको टाउकोमा चोट रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। उनी रहेको कोठामामा उनका करिब ९ वर्षीय छोरा पनि उपस्थित रहेको र श्रीमती साथमा नभएको प्रहरीले जनाएको छ।
सूचना पाएपछि इन्स्पेक्टर थमनसिंह रानाको कमान्डमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ। घटना स्थल इलाका प्रहरी कार्यालय दुम्किबासबाट करिब ३ किलोमिटर उत्तर – पूर्वतर्फ पर्छ। प्रहरीले घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।







