गैँडाकोटमा शैक्षिक प्रदर्शनी सम्पन्न, साइनिङ आवासीय प्रथम

गैँडाकोट, मङ्सिर २५ । कक्षाकोठासम्म शैक्षिक सामग्रीको प्रयोग पुर्‍याउने उद्देश्यसहित गैँडाकोट नगरपालिकाको आयोजनामा तथा कालिका नमुना माध्यमिक विद्यालयको सहआयोजना एवं व्यवस्थापनमा बुधबार कालिका नमुना विद्यालय परिसरमा शैक्षिक प्रदर्शनी सम्पन्न गरिएको छ। प्रदर्शनीमा नगरका विभिन्न विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो।

 

प्रतियोगितात्मक शैक्षिक प्रदर्शनीमा साइनिङ आवासीय माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। यस्तै, जनक नमुना माध्यमिक विद्यालय दोस्रो र आयोजना विद्यालय कालिका नमुना माध्यमिक विद्यालय तेस्रो स्थानमा चयन भएका छन्।

विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक, प्रविधि, स्थानीय विषय ‘हाम्रो गौरव, हाम्रो गैँडाकोट’, नेपाली, अङ्ग्रेजी तथा स्वास्थ्य विषयका पाठ्यक्रममा आधारित विविध शैक्षिक सामग्री निर्माण गरी प्रदर्शनी गरेका थिए।

 

कार्यक्रमका निर्णायकमा गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बाँनिया तथा चमेलीदेवी पिया माध्यमिक विद्यालय, भरतपुर-३ का विज्ञान शिक्षक प्रदीप काफ्ले रहे।

 

गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यको प्रमुख अतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी, प्राविधिक सहायक नेहाल गौतम, कालिका नमुना माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक वेदप्रसाद गौंडेल, प्रधानाध्यापक होमनाथ शर्मा, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति थियो।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि यशोदादेवी कँडेलले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको संयोजन कालिका नमुना माध्यमिक विद्यालयका शिक्षक मुकुन्द उपाध्यायले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको