नवलपुर, मङ्सिर २८ । नवलपुरको देवचुली नगरपालिका-२ स्थित कालिका टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। देवचुली-१६ का दुर्गा काफ्लेको खाली खेतमा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका, हालसम्म नामथर वतन नखुलेका पुरुषको शव घोप्टो अवस्थामा भेटिएको हो।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक लालबहादुर शाहीको कमाण्डमा सात जनाको टोली र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक मोहनकुमार खड्काको कमाण्डमा एसओसीओ सहित पाँच जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
घटनास्थल नगर केन्द्रबाट करिब दुई किलोमिटर पश्चिम-उत्तर दिशामा पर्ने बताइएको छ। मृतकको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ।







