गैंडाकोट, मङ्सिर २९ । धारापानी टोल विकास महिला समूहले आफ्नो टोलभित्र रहेका २६ जना महिलालाई लक्षित गरी सञ्चालन गरेको एक महिने बाद्यवादन तालिम सोमबार एक समारोहका बीच समापन गरिएको छ। गैंडाकोट नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा भगवान बराहा दिव्यधाम स्वेत बराहा मन्दिर सेवा समितिको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
तालिम समापन कार्यक्रममा गैंडाकोट वडा नं. १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी प्रमुख अतिथि थिए । भगवान श्वेत बराहा मन्दिर सेवा समितिका अध्यक्ष वेदप्रसाद गौडेल विशेष अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रम समूहकी अध्यक्ष शीला दवाडीको अध्यक्षतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले महिलाहरूको सीप र क्षमताको विकासमा यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै संस्कार, संस्कृति र परम्पराको संरक्षणमा बाद्यवादनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा पनि वडा कार्यालयले महिलामैत्री तथा सीपमूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेष अतिथि पौडेलले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा महिलाको सक्रिय सहभागिता बढाउन तालिमले टेवा पुग्ने विश्वास व्यक्त गर्दै तालिममार्फत महिलाहरू आत्मनिर्भर बन्दै समुदायमा नेतृत्वदायी भूमिकामा अगाडि बढ्ने अपेक्षा व्यक्त गरे । कार्यक्रमकी सभापति तथा समूहकी अध्यक्ष दवाडीले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने वडा कार्यालय, मन्दिर सेवा समिति तथा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
कार्यक्रममा रामबहादुर सापकोटा, छविलाल चापागाईं, आत्माराम पाठक, रामकृष्ण कोइराला, ठाकुरप्रसाद सापकोटा, सीता भट्टराई, प्रेमबहादुर अधिकारी, रमा आचार्य, लक्ष्मी चालिसे, समिर गौडेल लगायतको उपस्थिति रहेको थियो। समूहकी सीता ढकालले स्वागत मन्तव्य राखेको समापन कार्यक्रमको सञ्चालन सुशिला सापकोटाले गरेकी थिइन् ।







