गैंडाकोट, पौष १७ । गैंडाकोट नगरपालिका वडा नम्बर ४ की संगिता घिमीरे प्रतिनिधि सभाको समानुपातिक तर्फको बन्दसूचीमा समावेश हुन सफल भएकी छन्। लामो समयदेखि विद्यार्थी, सामाजिक तथा पार्टी राजनीतिमा सक्रिय घिमीरे नेपाली कांग्रेसकी प्रभावशाली महिला नेत्रीका रूपमा चिनिँदै आएकी छन्।
घिमीरेले २०५० सालमा भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको सक्रियता क्रमशः सामाजिक सेवा र पार्टी संगठन निर्माणतर्फ विस्तार हुँदै गएको छ।
उनी वडा महिला संघको सभापति, गाउँपालिका सह-सचिव, क्षेत्रीय सभापति लगायत विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। पछिल्लो समय उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी थिइन्। राजनीतिसँगै घिमीरे सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा समुदाय विकासका कार्यक्रमहरूमा निरन्तर योगदान दिँदै आएकी छन्। स्थानीय तहमा महिलाको आवाज बुलन्द गर्न र सामाजिक न्यायका पक्षमा उभिनु उनको पहिचान बनेको छ।
उनको नाम प्रतिनिधि सभा समानुपातिक बन्दसूचीमा समावेश भएसँगै गैंडाकोट क्षेत्रका महिला तथा कांग्रेस कार्यकर्ताहरूमा उत्साह थपिएको छ। लामो समयको राजनीतिक संघर्ष र सामाजिक योगदानको कदरस्वरूप घिमीरेको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।







