गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानद्वारा कवि शिरोमणि पौड्यालको १४२ औँ जन्मजयन्ती मनायो

गैंडाकोट, पौष १७ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसरमा विशेष कवितावाचन कार्यक्रमसहित विविध साहित्यिक गतिविधि आयोजना गरी जन्मजयन्ती मनाएको छ।

नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज बिनोदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छन्दकाव्य प्रतिष्ठान चितवनका अध्यक्ष लकास पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमका विशेष अतिथिमा नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रामप्रसाद अधिकारी रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्राज्ञ प्रतिष्ठानका कुलपति एवं कार्यक्रमका अध्यक्ष गोविन्दराज बिनोदीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यलाई शास्त्रीय छन्द, नैतिक चेतना र सामाजिक यथार्थसँग जोड्ने महान् साहित्यकार भएको उल्लेख गरे। “लेखनाथका कृतिहरू केवल साहित्यिक सौन्दर्यमा सीमित छैनन्, ती समाज रूपान्तरणका सशक्त माध्यम भएको बताउँदै नयाँ पुस्ताले पनि उनको साहित्यिक चिन्तन र छन्दप्रतिको साधनाबाट प्रेरणा लिन आवश्यक छ।” त्यसैगरी प्रमुख अतिथि लकास पौडेलले लेखनाथ पौड्याललाई नेपाली छन्दकाव्यका शिखर पुरुषका रूपमा चित्रण गर्दै उनको ‘तरुण तपसी’ जस्ता कृतिले पूर्वीय दर्शन, प्रकृति प्रेम र मानव मूल्यलाई उत्कृष्ट रूपमा उजागर गरेको बताए। “लेखनाथले नेपाली कवितालाई अनुशासन, सौन्दर्य र गहिरो दर्शन दिए,” उनले भने ।

कार्यक्रममा विभिन्न साहित्य तथा कला सम्बन्धी सङ्घसंस्थाका प्रतिनिधि डा: मतिप्रसाद ढकाल, सूर्यमणि रेग्मी, इन्द्रराज पौडेल, अमर बिरही गुरुङ, गोविन्दराज कोइराला, एकदेव रिमाल, राधा पाण्डे, भूमिका गैरे तिमेल्सिना, बिमला कार्की, उदयनाथ रेग्मी, भूमीश्वर शर्मा, रामप्रसाद पौडेल, परितोष कोइराला, धर्मानन्द शर्मा पौडेल, शोभा खनाल कोइराला, विश्वराज लम्साल लगायतको उपस्थिति रहेको थियो। सहभागी वक्ता तथा कविहरूले कवितावाचनमार्फत नै कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले उपस्थित अतिथि तथा सहभागीलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए। साहित्य विभाग प्रमुख मुना धनञ्जयको सहजीकरणमा सम्पन्न कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमले कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक विरासतलाई स्मरण गर्नुका साथै स्थानीय तहमा साहित्यिक चेतना र सृजनात्मक वातावरण प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको