पोखरा इलेक्ट्रिक एसोसिएसनको २६ औँ सभा सम्पन्न

कास्की, पौष २६ । पोखरा इलेक्ट्रिक एसोसिएसनले आफ्नो २६ औँ साधारण सभा कास्कीको थुमको डाँडामा सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्युत तथा विद्युतीय व्यवसायसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री बस्यालले देशमा विद्यमान राजनीतिक अस्थिरताले उद्योग तथा व्यवसायिक क्षेत्रको विकासमा गम्भीर अवरोध सिर्जना गरेको बताए। उनले स्थिर राजनीतिक वातावरण र स्पष्ट नीतिबिनै लगानी, रोजगारी र उत्पादनमुखी अर्थतन्त्र अघि बढ्न नसक्ने उल्लेख गर्दै सरकार उद्योगी-व्यवसायीको समस्या समाधानतर्फ जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

 

एसोसिएसनका अध्यक्ष केशवप्रसाद ढकालले जिल्लाभित्रका विद्युतीय व्यवसायीहरूले भोग्दै आएका समस्या र गुनासोलाई प्रदेश सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने माग राखे। उनले व्यवसायीमैत्री नीति र सहजीकरणको अभावले साना तथा मध्यम व्यवसाय प्रभावित भइरहेको बताए।

नेपाल विद्युतीय व्यवसाय महासङ्घका अध्यक्ष दिलीप कुमार अग्रवालले पछिल्लो समय सरकारले व्यवसायीलाई कर तिर्ने करदाताका रूपमा मात्र हेर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले महासङ्घका सदस्यहरू देशको समृद्धिका लागि लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे। त्यसैगरी गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका निर्देशक डा. सोमनाथ सापकोटाले विद्युत तथा विद्युतीय क्षेत्रमा कार्यरत तथा संघर्षरत श्रमशक्तिका लागि तालिम र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ प्रतिष्ठान सक्रिय रूपमा लागिपरेको जानकारी दिए। उनले दक्ष जनशक्ति उत्पादनमार्फत व्यवसायिक क्षेत्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा रेशमप्रसाद देवकोटा, गोपीचन्द्र बास्तोला, शोभा गौतम, शंकर देवकोटा, रामप्रसाद श्रेष्ठ, राजेश गौतम, लोकनाथ पोखरेल, सरोजकुमार रेग्मी, कृष्ण कुइकेल, विष्णुप्रसाद चालिसे, मिलन शिवाकोटी तथा सुजन अधिकारीलगायतको उपस्थिति रहेको थियो। एसोसिएसनका उपाध्यक्ष नील भुजेलको संयोजकत्वमा भएको सभालाई सचिव मिलन तामाङले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको