गैंडाकोट, पौष ३० । गैंडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र दर्ता नगरी सञ्चालन हुँदै आएका घुमन्ते तथा अवैध व्यवसायलाई पूर्ण रूपमा निषेध गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक, चोक, सार्वजनिक स्थल तथा फुटपाथमा घुम्दै सामान बिक्री गर्ने व्यवसायीलाई प्रतिबन्ध लगाएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा व्यवसाय दर्ता गरी मात्र सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्दै नगरपालिकाले बिना दर्ता सञ्चालन भएका व्यापार व्यवसायमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। सूचना अनुसार हातठेला, साइकल, रिक्सा, अटो लगायत प्रयोग गरी सार्वजनिक स्थानमा घुमन्ते रूपमा सामान बिक्री गर्न अब नगर क्षेत्रमा अनुमति दिइने छैन। नगरपालिकाको यो निर्णयले घरभाडा तिरेर, प्यान, भ्याट, व्यवसायिक कर तथा घरबहाल कर नियमित बुझाउँदै आएका स्थायी व्यवसायीहरूलाई केही राहत मिलेको छ। लामो समयदेखि कर तिरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरूले घुमन्ते व्यापारीका कारण अस्वस्थ प्रतिस्पर्धा, ग्राहक तानातान तथा बजार अव्यवस्थाको सामना गर्दै आएका थिए।
व्यवसायीहरूका अनुसार कर नतिरी सार्वजनिक स्थानमै सामान बिक्री गर्ने घुमन्ते व्यापारीका कारण स्थायी पसल सञ्चालन गर्नेहरू आर्थिक रूपमा मारमा पर्दै आएका थिए। नगरपालिकाको पछिल्लो कदमले व्यवसायिक अनुशासन कायम हुने र कर तिरेर व्यवसाय गर्नेप्रति सम्मान बढ्ने अपेक्षा गरिएको छ। नगरपालिकाले सूचना विपरीत अनुमति नलिई व्यवसाय सञ्चालन गरेको पाइएमा गैंडाकोट नगरपालिकाको आर्थिक ऐन, २०८१ अनुसार जरिवाना तथा आवश्यक कारबाही गरिने चेतावनी पनि दिएको छ। साथै हाल नगर क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले नगर क्षेत्रमा कतै पनि घुमन्ते वा अनधिकृत व्यवसाय देखिएमा नगर प्रहरी प्रमुख वा सम्बन्धित अधिकारीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।नगरपालिकाको यो कदमले बजार व्यवस्थापन, सार्वजनिक स्थलको सौन्दर्य र नियमित कर प्रणालीलाई मजबुत बनाउने विश्वास स्थानीय व्यवसायीहरूले व्यक्त गरेका छन्।







