गैंडाकोट, पौष ३० । देशको वर्तमान राजनीतिक यथास्थिति, लोकतान्त्रिक मूल्यको रक्षा र निर्वाचन प्रक्रियाप्रति देखिएको अन्योलमाथि गम्भीर छलफल गर्दै फागुन २१ गते तोकिएको निर्वाचन कुनै हालतमा पनि समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै गैंडाकोटमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ।
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताको प्रवर्द्धनमा सक्रिय मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” विषयक नागरिक संवाद कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड भएकाले यसमा कुनै पनि बहाना स्वीकार्य नहुने स्पष्ट पारे। मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले वर्तमान यथास्थितिले लोकतन्त्र कमजोर बन्दै गएको संकेत गरिरहेको भन्दै फागुन २१ गते तोकिएको निर्वाचन समयमै गर्न सबै नागरिकले एक स्वरमा दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले निर्वाचन नहुनु लोकतान्त्रिक अभ्यासमाथिको प्रत्यक्ष आघात हुने बताए।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेलले चितवनबाट सुरु गरिएको अभियानले देशव्यापी रूप लिँदै गएको जानकारी दिँदै निर्वाचन स्थगन वा अन्योल सिर्जना गर्ने प्रयासप्रति नागरिक सचेत हुनुपर्ने बताइन्। नेपाली काँग्रेस नेतृ तथा गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले लोकतन्त्रको विकल्प खोज्नु लोकतन्त्रकै अस्वीकार भएको टिप्पणी गर्दै फागुन २१ को निर्वाचन समयमै हुनुपर्नेमा जोड दिइन्। उनले निर्वाचनबिनाको शासन व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारिन् । वडा नम्बर १ का अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले मानव अधिकार तथा शान्ति समाजले उठाएको लोकतान्त्रिक खबरदारीप्रति आफ्नो निरन्तर साथ रहने प्रतिबद्धता जनाए। नेकपाका नेता धनप्रसाद सापकोटाले यथास्थितिमा रमाउने प्रवृत्तिले समाजलाई पछाडि धकेलिरहेको बताए भने नेकपा एमालेका नेता कृष्ण पौडेलले परिवर्तनलाई अस्वीकार गर्ने शक्ति अन्ततः जनताबाटै पराजित हुने धारणा राखे।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रकान्त रेग्मीले जनताले सुशासन, न्याय र उत्तरदायी शासन प्रणाली खोजिरहेको उल्लेख गर्दै निर्वाचन समयमै हुनु नै त्यसतर्फको पहिलो कदम भएको बताए।
कार्यक्रममा कवि अर्जुन पराजुलीले समसामयिक राजनीतिक अवस्थालाई चित्रण गर्ने कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सचिव एवं पूर्व जिल्ला सभापति श्यामसुन्दर पराजुलीले गरेका थिए भने नागरिक संवाद कार्यक्रमको संयोजन मानव अधिकार तथा शान्ति समाज नवलपुरका सभापति कमल शर्माले गरेका थिए।







