गैंडाकोट, माघ ८ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडाभित्र स्वास्थ्य बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्य बीमा दर्ता सहयोगीलाई आवश्यक स्टेसनरी तथा प्रोत्साहन सामग्री वितरण गरेको छ। बिहीबार वडामा आयोजित कार्यक्रममा वडा दर्ता सहयोगी सुजन अधिकारीलाई सामग्री हस्तान्तरण गरेको हो।
सामग्री वितरण गर्दै वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले स्वास्थ्य बीमालाई सबै वडावासीको पहुँचमा पुर्याउने अभियानमा दर्ता सहयोगीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले “जेष्ठ नागरिक, विपन्न तथा स्वास्थ्य बीमा निःशुल्क पाउने नागरिकका परिवारलाई समेत अनिवार्य रूपमा बीमामा आबद्ध गराउन बीमा दर्ता सहयोगीले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले वडा बासीलाई बीमाको महत्व र लाभबारे जानकारी दिनु अहिलेको आवश्यकता औलाए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन दर्ता सहयोगीले जनताको घरघरमै पुगेर बीमा दर्ता, नवीकरण तथा बीमाबाट प्राप्त हुने सेवाका बारेमा जानकारी दिँदै आएका छन्। सामग्री पाएपछि दर्ता सहयोगीले काम गर्न थप सहज हुने विश्वास व्यक्त गरे । दर्ता सहयोगी अधिकारीले भने, “वडाले उपलब्ध गराएको सामग्रीले फिल्डमा काम गर्दा हौसला बढ्ने र अझ सक्रिय रूपमा घरदैलो अभियान चलाएर बीमामा आबद्ध गराउने बताउँदै पछिल्लो समय केही अस्पतालहरुले भुक्तानी नपाउँदा सेवा बन्द भएको तर स्वास्थ्य बीमा नै बन्द हुने कुरा निराधार भएको उनले बताए ।
स्वास्थ्य बीमा कार्यक्रम विसं २०७२/७३ मा कैलाली, बागलुङ र इलाम जिल्लाबाट पाइलट परियोजनाका रूपमा सुरु भएको थियो। स्वास्थ्य बीमा बोर्डका अनुसार २०८१ सम्ममा करिब २५ लाख परिवार यस कार्यक्रममा आबद्ध भइसकेका छन्, जसले करिब ३८ प्रतिशत परिवारलाई सेवा दिइरहेको अनुमान छ।
नवलपुर जिल्लाभर हालसम्म ३४ हजारभन्दा बढी घरपरिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन्। विसं २०७७ देखि जिल्लामा सुरु गरिएको यो कार्यक्रम अन्तर्गत सबै ८ वटा स्थानीय तह समेटिएका छन्। पालिकागत विवरण अनुसार सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ९ हजारभन्दा बढी घरपरिवार स्वास्थ्य बीमामा आबद्ध छन्। कावासोती नगरपालिकामा करिब ८ हजार, देवचुलीमा ७ हजार, मध्यविन्दु नगरपालिकामा ५ हजारभन्दा बढी घरपरिवार सहभागी भएका छन्। त्यसैगरी, हुप्सेकोट गाउँपालिकामा करिब २ हजार, विनयी त्रिवेणी गाउँपालिकामा १ हजार ५ सय, बौदीकाली गाउँपालिकामा १ हजारभन्दा बढी र बुलिङटार गाउँपालिकामा करिब ९ सय घरपरिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेको स्वास्थ्य बीमा बोर्ड नवलपुरले जनाएको छ। यसरी जिल्लाभर कुल करिब ३४ हजारभन्दा बढी घरपरिवार स्वास्थ्य बीमाको दायरामा समेटिएका छन्।
वडा कार्यालयले आगामी दिनमा समेत स्वास्थ्य बीमा विस्तारका लागि सहकार्य र प्रोत्साहनका कार्यक्रम निरन्तर अघि बढाउने जनाएको छ।







