कावासोती । नवलपुरको देवचुली नगरपालिकामा स्कुल बसको ठक्करबाट नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ
देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबार बिहान लु १ क ३८१४ नम्बरको विद्यालयको बसले ब्याक गर्ने क्रममा नर्सरी कक्षामा अध्ययनरत ४ वर्षीया सुस्मा कुमारी पासवानलाई ठक्कर दिएको थियो ।
बाराको कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली नगरपालिका–१४ सातघरेमा बसोबास गर्दै आएकी बालिका पासवान बसको ठक्करबाट गम्भीर घाइते भएकी थिईन । घाइते बालिकालाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल, दुम्कौली पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस चालक देवचुली नगरपालिका–१ राममन्दिर बस्ने ५१ वर्षीय जगनाथ लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै दुर्घटनामा संलग्न बस पनि प्रहरी नियन्त्रणमा रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







