गैंडाकोट, फागुन ८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको समानुपातिक उम्मेदवार सुस्मिता थापा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको गैंडाकोट -२ स्थित चुनाव प्रचार-प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमका बीच उक्त प्रवेश घोषणा गरिएको हो। सो अवसरमा जसापा लगाएतका दर्जनभन्दा बढी नेता-कार्यकर्ताले समेत कांग्रेसको सदस्यता ग्रहण गरेका थिए। कार्यक्रममा कांग्रेसका केन्द्रीय, क्षेत्रीय, जिल्ला तथा नगरस्तरीय नेताहरूका साथै स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। पार्टी प्रवेश गर्नेलाई नेपाली कांग्रेसका केन्द्रीय तथा क्षेत्रीय नेताहरूले फुलमाला र अविर द्वारा पार्टीमा स्वागत गरिएको थियो।
कार्यक्रममा बोल्दै नगर सभापति बद्री सापकोटाले देशमा लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षा गर्न कांग्रेसलाई थप सशक्त बनाउनुपर्ने धारणा राख्दै उनले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि अन्त्य गर्न कांग्रेसले जिम्मेवार भूमिका खेल्ने विश्वास व्यक्त गरे। नवप्रवेशी नेताहरूले लोकतान्त्रिक मूल्य-मान्यताप्रति आस्था राख्दै कांग्रेसमार्फत जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







