गैंडाकोट, १० फागुन। गत असोजमा आफ्नो पहिलो कवितासङ्ग्रह मनको अदालत प्रकाशन गर्दै साहित्यिक यात्रामा औपचारिक प्रवेश गरेकी कवि मेनका चापागाईं काप्री शनिबार गैंडाकोटमा एकल कवितावाचनमार्फत पुनः सशक्त उपस्थितिका साथ उभिइन्।
अक्षर समूह चितवनद्वारा आयोजित ‘एक कविका एक दर्जन कविता’ कार्यक्रममा काप्रीलाई विशेष कविका रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा उनले आफ्ना दसवटा कविता वाचन गरिन् भने दुई अतिथि कविले पनि सिर्जनात्मक साथ दिएका थिए।
‘म कवि’ शीर्षकबाट सुरु भएको उनको वाचन क्रमशः ‘लेखापरिक्षक’, ‘बदलिएको समय’, ‘दुश्मन फेरिएको दिन’, ‘खरानीको फूल’, ‘माईली दिदीको परिचयपत्र’, ‘माने दाइ उपसचिव बने’, ‘नथुवा चौधरी’, ‘स्त्री आव्हान’ र ‘म चेतनाको कल्पवृक्ष हुँ’ हुँदै अगाडि बढ्यो। उनका कवितामा प्रेमका कोमल संवेदना मात्र होइन, समाजका विसंगति, राजनीतिक विकृति र परिवर्तनको आकांक्षा प्रखर रूपमा अभिव्यक्त भएको अनुभूति सहभागीले गरे।
कार्यक्रममा अतिथि कवि समिता पौडेल न्यौपानेले ‘मेरो अनुपस्थिति’ तथा शून्य नयनले ‘जब कवितासँगै जिउन थालें म’ शीर्षकका कविता वाचन गर्दै कार्यक्रमलाई थप गहिराइ प्रदान गरेका थिए।
सिर्जनशील यात्रालाई निरन्तरता दिँदै कवि काप्रीले सामाजिक र राजनीतिक चेतनाले भरिएका रचनामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आफ्नो उद्देश्य रहेको बताइन्।
लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सूर्यप्रकाश कँडेलले स्वागत मन्तव्य राखेका थिए। संस्थापक अध्यक्ष भूपिनले २०६२ सालदेखि समूहले निरन्तर कृति चर्चा, कवितावाचन तथा विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराए। कार्यक्रमको सहजीकरण सचिव विनोदबाबु रिजालले गरेका थिए।
गैंडाकोटको साहित्यिक परिवेशमा यो कार्यक्रमले सिर्जनात्मक ऊर्जा थप्नुका साथै कवि काप्रीको अभिव्यक्तिलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ।







