काठमाडौँ, फागुन ११ । धादिङमा सोमबार बिहान भएको सवारी दु’र्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खसेर दु’र्घटनामा परेको हो।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको थियो। साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको थियो।
प्राप्त विवरणअनुसार मृ’त्यु भएका १७ जनाको शव घटनास्थलमै रहेका छन्। घाइते २४ जनालाई उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको जानकारी दिएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्राविधिक जाँच तथा थप विवरण आउन बाँकी रहेको सुरक्षा निकायले जनाएको छ।







