गैंडाकोट, फागुन १३ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका-२ शान्तिनगर टोलस्थित एक डेराभित्र २४ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला गुल्मी मुसिकोट गाउँपालिका-९ घर भई हाल गैंडाकोट-२ मा सिता लामिछानेको घरमा विगत ६ महिनादेखि डेरा गरी बस्दै आएकी बबिता सापकोटा सम्पर्कविहीन भएपछि उनका दाइ खोजतलासका लागि गैंडाकोट आएका थिए। फोन सम्पर्कसमेत हुन नसकेपछि उनले घरबेटीलाई जानकारी गराएका थिए। १२ गते साँझ करिब ६:३० बजे दाइले बहिनी सम्पर्कमा नरहेको जानकारी दिएपछि साँझ ७:३० बजे इलाका प्रहरी कार्यालय गैंडाकोटमा खबर गरिएको थियो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट प्रहरी उपरीक्षक युवराज खड्काको कमाण्डमा ७ जनाको टोली र इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा ‘सिन अफ क्राइम’ (SOCO) सहित ५ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
स्थानीय जनप्रतिनिधि, घरबेटी, आफन्त तथा प्रहरीको रोहवरमा कोठाको बाहिरबाट लगाइएको ताल्चा खोली हेर्दा सापकोटा आफ्नै खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय गैंडाकोटबाट करिब १ किलोमिटर पश्चिममा पर्छ।
प्रहरीका अनुसार मृतक सापकोटाको तीन वर्षअघि गुल्मी मुसिकोट-९ मा विवाह भएको थियो। एक वर्षअघि सम्बन्धविच्छेद भएको र सन्तान नभएको खुलेको छ। उनी गत माघ १० गते घर गुल्मी गई फागुन १० गते पुनः गैंडाकोटस्थित डेरामा फर्किएकी थिइन्। त्यसपछि माइती पक्षसँग सम्पर्कमा नआएपछि परिवारले खोजतलास तीव्र पारेका थिए।
घटनाको थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको डग शाखाबाट प्रहरी नायब निरीक्षक सन्तोष लामिछानेको कमाण्डमा दुई वटा तालिमप्राप्त कुकुरसहितको टोलीसमेत खटिएको थियो। मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। साथै युवतीको सव अहिलेसम्म घरभित्रै रहेको प्रहरीले जनाएको छ ।







