गैंडाकोट, फागुन १६ । संगीता घिमिरे काफ्ले ले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको उम्मेदवारका रूपमा आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छन्। नवलपुरको गैंडाकोट निवासी काफ्लेले महिला अधिकार, आर्थिक आत्मनिर्भरता, शिक्षा – स्वास्थ्य सुधार र सुशासनलाई आफ्नो प्राथमिक एजेण्डा बनाउने घोषणा गरेकी हुन्।
वि.सं. २०२८ साल १० महिना १६ गते जन्मिएकी काफ्ले शिक्षाशास्त्रतर्फ स्नातक (B.Ed) तथा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेकी छन्। २०४९ सालदेखि नेवी संघ सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी उनले वडा महिला सञ्जालको अध्यक्ष, जिल्ला सदस्य हुँदै महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालिसकेकी छन्। एकल महिलाका हकहितका लागि ‘रातो अभियान’ सञ्चालन गर्दै आएकी काफ्ले राष्ट्रिय महिला सम्मानबाट सम्मानित भइसकेकी छन्। सहकारी क्षेत्रमा सक्रिय उनले नेस्कुनबाट ‘महिला अध्यक्ष अवार्ड’ समेत प्राप्त गरेकी छन्। नवलपुर क्षेत्रमा महिला हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा उनी परिचित छन्।
उनले लैङ्गिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयन, समान कामको समान पारिश्रमिक, छोरीहरूको उच्च शिक्षामा पहुँच विस्तार, मातृ तथा प्रजनन स्वास्थ्य सेवा सुदृढीकरण, सहुलियतपूर्ण ऋण र सीपमूलक तालिममार्फत महिला उद्यमशीलता प्रवर्द्धनलगायतका कार्यक्रम अघि सारेकी छन्। साथै, एकल तथा विपन्न महिलाका लागि सामाजिक सुरक्षा मजबुत बनाउने र लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। “राजनीति सेवा र जिम्मेवारी हो, महिलाको सम्मान र समान अवसर सुनिश्चित नगरी समृद्ध समाज निर्माण सम्भव छैन,” उनले भनिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काफ्लेले लोकतन्त्र सुदृढीकरण, महिला नेतृत्वको सशक्त उपस्थिति र समावेशी विकासका लागि बालकृष्ण घिमिरे सहित देशभरका उम्मेदवार तथा समानुपातिक तर्फका उम्मेदवारलाई रुखचिन्हमा मत दिई विजयी गराउन मतदातासँग आग्रह गरेकी गरेकी छन्।







