गैंडाकोट, माघ १७। उद्योग वाणिज्य संघ नवलपरासी गैंडाकोट (ब.सु.पूर्व)ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै आफ्ना सदस्यहरूलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
संघले जारी गरेको सूचनामार्फत फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न सहयोग गर्न सबै उद्योगी, व्यवसायी तथा पेशाकर्मी सदस्यहरूलाई अनुरोध गरेको हो।
सूचनामा फागुन १८ गते राति १२:०० बजेदेखि कुनै पनि राजनीतिक दलका निर्वाचन प्रचार-प्रसार सामग्री तयार पार्ने, बिक्री-वितरण गर्ने, टाँस्ने वा अन्य कुनै किसिमको प्रचारात्मक गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ। संघले निर्वाचन सम्बन्धी प्रचलित कानुन तथा निर्देशिकाको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै उल्लंघन नगर्न सचेत गराएको छ। निजी क्षेत्रले सबै राजनीतिक दलप्रति समान सम्मान राख्दै नेपाल सरकारका नीति-निर्देशनको पालना गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ। सूचना संघका महासचिव तेज नारायण पाण्डेद्वारा जारी गरिएको हो ।







