गैंडाकोट, फागुन २१ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका-१० मा दोहोरो मतदानको आरोप लागेपछि विवाद उत्पन्न भएको छ।
उक्त मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विनोद लामिछानेले दुई पटक मतदान गरेको आरोप लागेपछि स्थिति तनावपूर्ण बनेको हो। घटनापछि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
घटनापछि मतदान केन्द्रमा उपस्थित नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र का प्रतिनिधिहरूले प्रमुख निर्वाचन अधिकृत नै उक्त कार्यमा संलग्न रहेको आरोप लगाएका छन्।
उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै मतपत्रको मुचुल्का उठाउन अस्वीकार गरेका छन्। यस कारण उक्त मतदान केन्द्रमा केही समय अन्योलको स्थिति सिर्जना भएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने निर्वाचन अधिकारीहरूबीच छलफल जारी रहेको बताइएको छ।







